आमा सुरक्षा कार्यक्रम स्थगनमा एमाले पाल्पाको ध्यानाकर्षण

पाल्पा । नेकपा एमाले पाल्पाले लुम्बिनी मेडिकल कलेजबाट आगामी असार ३१ गतेदेखि आमा सुरक्षा कार्यक्रम स्थगन हुने विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले प्रेस विज्ञप्ती जारी गरेर तानसेन नगरपालिकाले बजेट सुनिश्चितता नभएको भन्दै लुम्बिनी मेडिकल कलेजबाट उपलब्ध हुँर्दै आएको आमा सुरक्षा कार्यक्रम स्थगन गर्न पठाएको पत्रप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा नेकपा एमाले पाल्पाले सार्वजनिक सरोकारका विषयमा चासो, सरोकार र समाधानमा पहल गर्दै आएको पार्टी हो । स्वास्थ उपचार प्राप्त गर्ने अधिकार नेपालीको सबैधानीक अधिकार हो । नयाँ सन्तानको जन्म दिने समयको लागि निशुल्क उपचार सेवा प्राप्त गर्ने कार्यक्रम ’आमा सुरक्षा कार्यक्रम’ लुम्बिनी मेडिकल कलेज प्रभासमा सञ्चालन हुँदा जनतालाई ठूलो राहत भएको छ । स्वास्थ उपचारको विषयमा पटक पटक सरकार तथा अस्पतालबाट हुनेगरेका गैरजिम्मेवार क्रियाकलापमा हाम्रो विरोध रहर्दै आएको छ । आमा सुरक्षा कार्यक्रम लुम्बिनी मेडिकल कलेजमा स्थगन नगरी कलेजसहित पाल्पाका सबै ठुला अस्पतालमा तत्काल लागु गराउने व्यवस्था मिलाउन नेपाल सरकार, तानसेन नगरपालिकासहित सम्बन्धित निकायसंग माग गरिएको छ ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि आमा सुरक्षा कार्यक्रमका लागि न्यून रकम प्राप्त भएको जनाउर्दै कार्यक्रम लागु गर्न नसकिने भन्दै असार १९ गते मेडिकल कलेजमा पत्र पठाएपछि कलेजले असार ३१ गते राती १२ बजेपछि आमा सुरक्षा कार्यक्रम स्थगन गरिने गरी सूचना जारी गरेको छ ।

यसैबीच पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका संघीय सांसद नारायणप्रसाद आचार्य र ठाकुरप्रसाद गैरेले पनि तानसेन नगरपालिका र कलेजबीच सम्झौता भइ संचालनमा रहेको आमा सुरक्षा कार्यक्रम स्थगन गर्ने व्यहोराको सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सरोकारवालाहरुसँग सामान्य छलफल समेत नगरी नागरिकको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा यस प्रकारको कार्य हुनु अस्वभाविक रहेको भन्दै स्थगन गर्ने व्यहोराको सूचना रद्धगरी सम्बन्धित पक्षहरुबाट आवश्यक पहलकदमी लिई आमा सुरक्षा कार्यक्रम जस्तो महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै त्यसका लागि आफूले आवश्यक पहल गर्न सदैव तयार रहेको जानकारी समेत गराउनुभएको छ ।

सम्बन्धित खवर