खडकसिं बाह्रघरे मगरको फलामको काम

पाल्पा । जीवनका ५५ बसन्त पार गर्नुभएका खड्क सिं बाह्रघरे मगरलाई तातो फलाम पिट्दै गरेको अवस्थामा उहाँकै आरनमा भेटन सकिन्छ । पूर्वखोला २ जल्पा मैदान गाँउको खर्कमा बाह्रघरे मगरले आज भन्दा १५ वर्ष अघि आरन पेशा सुरु गर्नुभएको हो ।

७५ बढि घरधुरी मगर समुदाय मात्र रहेको मैदानमा फलामको काम गर्ने कोहि नभएपछि बाह्रघरे मगरले रहरले भन्दा पनि बाध्यताले यो पेशा सुरु गरेको बताउनुहुन्छ । बाह्रघरे मगरले भन्नुभयो “गाउँमा फलामका काम गर्ने मान्छे भएनन् । टाढा हतियार अर्जाप्न जाँदा बेलामा काम हुन्थेन । बालीघरे प्रथामा काम चलाउने भनिएता पनि पैसा नदिंदासम्म भनेको बेलामा काम नहुने र दुःख पाइएको हुँदा आफैले यही काम गर्छु लाग्यो । अर्जापेको हतियार लिन जाँदाजाँदा हप्तौं बित्थे कहिलेकाँही त ।” बाह्रघरे मगरलाई आरनको काम गर्न यति सम्म हुटहुटी लाग्यो की आरनमा काम गर्नेको हातको पानी चल्दैन भन्ने समयमा पनि तत्कालिन जल्पा गाँउ विकास समितिको सहयोगमा १५ दिनको आरनको काम सिक्नुभयो । उहाँ भन्नुहुन्छ “गाउँतिर पहिला पहिला पाइन् लगाउनेका हातबाट पानी चल्दैन्थ्यो ! मैले के नराम्रो काम गरें अनि मेरो हातबाट पानी नचल्ने ? मैले त गाउँलेको खाँचो पूरा गरेको न हुँ ? काम गरेर खान केको लाज ? केको जातीय विभेद ? छुवाछुतलाई जरैबाट उखेल्नुपर्छ । ”

उहाँको आरनमा असारमासमा र धान, कोदो, खर काट्ने बेला हतियार अर्जाप्न आउनेको घुइँचो लाग्छ । उहाँले दिनभरीमा २० देखि ३० वटा हँसिया अर्जाप्दा एक हजार रुपैयाँ सजिलै कमाउन सकिने बताउनुहुन्छ । एउटा हँसिया अर्जापेको स्थानीयहरुलाई ३५ रुपैयाँ र छिमेकी गाउँलेहरुलाई ४० रुपैयाँ लिने उहाँको भनाइ छ । बाह्रघरेले आरनमा बसेर हँसिया मात्र अर्जाप्नु हुन्न तातोफलाम पिटेर नयाँ वस्तुका आकार पनि बनाउनुहुन्छ । उहाँले हँसिया, फरुवा, खुकुरी, कोदालो बनाएर स्थानीयहरुलाई सहयोग पु¥याउनुभएको छ । उहाँले हसिँया एक दिनमै बनाउन सकिने र न्यूनतम आठ सयदेखि एक हजार दुईसयसम्म सजिलै पार्न सकिने बताउनुभयो । यसैगरी आफूले बनाएको खुकुरीलाई तीन हजार रुपैयाँसम्म पर्ने गरेको सुनाउँदै स्पातलाई काटेर कोदालो बनाउँदा अलि कठिन हुने र एउटा कोदालोलाई दुई हजारदेखि दुईहजार पाँचसय रुपैयाँसम्म पर्ने बताउनुभयो ।

सबै संग मिलनसार व्यवहार गर्ने बाह्रघरे सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । पूर्वखोला गाँउपालिका वडा नं २ जल्पा मैदानका टोल अध्यक्ष समेत रहनुभएका बाह्रघरे मगरको सामाजिक विकासमा पनि लगाव उत्तिकै छ । पाँच सन्तानका पिता बाह्रघरेले गाउँमा स्मार्ट बाख्रापालन कार्यक्रम आएपछि ३० वटा जति बाख्रा पनि पाल्नुभएको छ । उहाँका बारीका कान्लामा दालचिनी र अम्रिसोको बिरुवा पनि हुर्किरहेका छन । यसै वर्ष बाख्रा बेचेर करिब २ लाख रुपैयाँ आम्दानी गर्नुभएका बाह्रघरेलाई बाध्यताले सुरु गरेको आरन पेशा नै रमाइलो लाग्ने गर्छ । कुरा फलामजस्तै कडा गर्न रुचाउने बाह्रघरेको मन भने नौनीजस्तै कमलो छ । गाउँका सबैलाई उत्तिकै सम्मान गर्ने, स्नेह गर्ने र सहयोग गर्ने उहाँको बानी छ । गाउँमा कृषि र पर्यटनको सहायताबाट विदेशिएका युवाहरुलाई गाउँमै फर्काउने उहाँको योजना छ ।

उहाँको काम देखेर पूर्वखोला गाउँपालिका वडा नं.२, जल्पाका वडाध्यक्ष निरबहादुर सारुले स्थानीयहरुको आवश्यकता पूरा गर्नुभएको छ । कामलाई सानो ठूलो मान्नुभएको छैन, मिहिनेती हुनुहुन्छ । फलामकै काम गरेर आम्दानी गरिरहनुभएकोले आगामी दिनमा उहाँलाई वडाले सहयोग गर्ने सोच बनाएको बताउनुभएको छ । याे समाचार करूवा पत्रिकामा प्रकाशित छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय