प्रेस चौतारीको भेला तथा बधाई ज्ञापन

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले चौतारीकर्मीको भेला तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिबेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई बधाई ज्ञापन समेत गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले समाजमा भएको बेथिती विसंगतीका विरुद्धमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले पाल्पाली पत्रकारिताको विकासमा प्रेस चौतारीको नेतृत्वदायी भूमिका रहेको समेत बताउनुभयो । पछिल्लो समय प्रविधिको विकाससंगै पत्रकारितामा उत्पन्न समस्या न्यूनीकरणमा सहजीकरण गर्नसक्ने चौतारीको नेतृत्वमा पत्रकार महासंघ पाल्पालाई अगाडि बढाउनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो । उहाँले विगतमा भएका केहि गलत अभ्यासलाई सिकाईका रुपमा लिएर पत्रकारिताको मर्म र धर्मको रक्षाका लागि चौतारीकर्मीहरु एक ठाउँमा उभीनुपर्ने बताउनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले आफ्नो नेतृत्वमा बनेको जिल्ला कमिटी पदाधिकारीलाई बधाई ज्ञापन गरेकोमा चौतारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भेला छलफल र समीक्षाले काम गर्ने उत्साह थप्ने भएकोले महासंघको निर्वाचन लक्षित भेला महत्वपूर्ण भएको बताउनुभयो । समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका ठूलो हुने बताउर्दै अध्यक्ष घर्तीमगरले पेशागत धर्म इमान्दारिता पूर्वक निर्वाह गर्दा सबै वर्गको हित हुने बताउनुभयो । प्रेस चौतारी पाल्पाको पछिल्लो क्रियाशीलता प्रशंसायोग्य रहेकोले सोहि अनुसार पत्रकार महासंघलाई पत्रकारहरुको हितमा क्रियाशील गराउन निर्वाचनमा एक भएर नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ पत्रकार तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार मेघराज शर्माले प्रेस चौतारी एक ठाउँ उभिदा महासंघको नेतृत्वका लागि कुनै समस्या नरहेको बताउनुभयो । उहाँले महासंघको स्थापना कालदेखि अहिलेसम्म भएका निर्वाचनको एक मात्र साक्षी आफूमात्र रहेको बताउर्दै नैतिकता नबेचेर इमान्दारी रुपमा प्रस्तुत हुँदा चौतारीको नेतृत्व सुनिश्चित रहने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका नेता तथा पाल्पा क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले चौतारीकर्मी पत्रकारहरुले खोजी पत्रकारितालाई प्राथमिकताा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले औपचारिक समाचार भन्दा खोजी पत्रकारिताको बजार राम्रो भएकोले यसमा ध्यान दिन आग्रह गर्नुभयो । विगत लामो समयदेखिको पत्रकारिता क्षेत्रमा रहेको प्रेस चौतारीको योगदानको निरन्तरताका लागि पनि महासंघको नेतृत्व आवश्यक रहेको सांसद आचार्यको भनाइ थियो ।

भेला तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी चौतारीकर्मीहरुले अहिलेसम्म भएका गतिविधि र नेपाल पत्रकार महासंघको निर्वाचन र आफ्नो उमेद्वारीका विषयमा आफ्ना भनाइ राखेका थिए । उनीहरुले महासंघमा चौतारीको एकल बहुमत रहेकोले निर्वाचनमा एकल रुपमा जानुपर्ने सुझाव राखेका थिए । सधै मिलेर र मिलाएर जाने विषयमा उदार हुँदा बहुमत भैकन पनि पछिल्लो निर्वाचनमा चौतारीले पाएको घोकालाई सिकाईका रुपमा लिएर अगाडि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

भेलाले पत्रकार महासंघ चौतारीको नेतृत्वमा अगाडि बढाउने निर्णय गरेको छ । साथै निर्वाचनमा चौतारीकोतर्फबाट उमेद्वारको छनोटका लागि ५ सदस्यीय कार्यदल गठन समेत गरेको छ । नेकपा एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीमगर र वरिष्ठ पत्रकार मेघराज शर्माको प्रत्यक्ष निगरानीमा प्रेस चौतारीका संस्थापक अध्यक्ष केशवराज नेपाल, पूर्व अध्यक्ष भगवान भण्डारी, रामप्रसाद न्यौपाने, कमलराज तिमिल्सेना र राजेन्द्र लिगलले काम गर्नेगरी कार्यदल गठन गरिएको छ । कार्यदलले आवश्यक समन्वय र छलफलबाट उमेद्वारको टुंगो लगाउने छ ।

कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पा शाखा उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता चलेको हो ।

सम्बन्धित खवर