ज्येष्ठ नागरिकको दुखप्रति एमाले तानसेनको ध्यानाकर्षण

पाल्पा । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय अनिवार्य गर्दा ज्येष्ठ नागरिकले पाएको दुखप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयको नेतृत्वमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद ठाकुरप्रसाद गैरे, जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउर्दै जिल्ला भरबाट ज्येष्ठ नागरिकहरु परिचय पत्र बनाउनकै लागि दुख पाएर आउनु परेको बाध्यतालाई सहजीकरण गर्न आग्रह गरिएको छ । टोलीले जिल्ला प्रशासनमा भैरहेको भिडभाड र सेवाग्राहीले पाएको दुखलाई मध्यनजर गर्दै नागरिकको सहजताको लागि वडास्तरमा राष्ट्रिय परिचयपत्र बनाउने टोली खटाउने व्यवस्था गर्न आग्रह समेत गरेकाे छ ।

अहिले राष्ट्रिय परिचय पत्र बनाउन आएका नागरिकहरुको भिड बढेकोले सेवा प्रवाहमा सर्भर डाउन हुने, कर्मचारी अभाव जस्ता समस्या छ । त्यसैले समयसीमा भित्र व्यवस्थित रुपमा नागरिकले सहज रुपमा सेवा लिने वातावरणका लागि सहि सूचना प्रवाह र स्थानियस्तरबाटै परिचय पत्र बनाउने सेवाको सुनिश्चितता गर्न भनिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले केन्द्रसंग थप कर्मचारी माग गरी प्रत्येक वडामा नागरिकता र राष्टिय परिचय पत्र बनाउने टोली खटाउने प्रयास गर्ने बताउनुभयो । उहाँले कार्यालय परिसरको भिड व्यवस्थित र सहजताका लागि आइतबारदेखि टोकन प्रणाली लागु गर्ने, व्ह्ील चियर, स्वास्थ उपचार टोलीको व्यवस्था गर्ने र सेवाग्राहीका लागि विश्राम कक्ष निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाल्पामा नेपाल सरकारले आगामी माघ १ गते देखि सामाजिक सुरक्षालगायत अन्य सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । अहिले सहि सूचना प्रवाह नहुँदा स्थानीयस्तरमा आगामी आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्ता नपाइने हल्लाका भरमा परिचय पत्र बनाउने हतार गरेका छन् ।

सम्बन्धित खवर