
पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया गाउँसभामा प्रस्ताव गरेको छ । गाउँपालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष हरिप्रसाद पाठकले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ४९ करोड ८४ लाख ६४ हजारको बजेट मार्फत काम गर्दै आएको छ । आगामी वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेका गरिएको हो ।
सभामा प्रस्तुत बजेटमध्ये पूंजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ । यसैगरी चालुगततर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो । गाउँपालिकाको आन्तरिक स्रोतबाट ९५ लाख जुटाउने लक्ष्यसहित बजेट प्रस्तुत गरिएको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धि, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिएर बजेट प्रस्ताव गरिएको गाउँपालिका उपाध्यक्ष पाठकको भनाइ छ ।
गाउँपालिकाका ९ वटै वडाबाट वस्तीस्तरमा योजना छनौट गरी प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम तथा रकम विनियोजना प्रस्ताव गर्न वडा समितिलाई नै अख्तियार प्रत्यायोजन गरी बजेट सिलिङ तयार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको १ र ६ नं. वडाको लागि ३८ प्रति वडा ३८ लाख, ८ नं. वडाका लागि २८ लाख र अन्य वडा २,३,४,५,७ र ९ का लागि प्रति वडा ३४ लाखका दरले बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशनको दोस्रो बैठकमा बजेट प्रस्तुत गरिएको हो । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सरस्वती चिदीले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम पास गरेपछि बजेट सार्वजनिक भएको छ । आगामी वर्षका लागि गाउँपालिकाले शिक्षा, कृषि तथा पशुपालन र पूर्वाधार विकासमा विशेष जोड दिएको अध्यक्ष चिदीले जानकारी दिनुभयो । उहाँले विगतदेखि निरन्तर रुपमा सञ्चालनमा रहेका कार्यक्रमको निरन्तरतासंगै क्षेत्रगत रुपमा विशेष कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । गाउँपालिकाको शैक्षिक सुधारका लागि विद्यालय समायोजन कार्यक्रम, विद्यार्थीको दुर्घटना बिमा, दलित विद्यार्थीहरुलाई छात्रावृत्ति कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तै कृषि तथा पशुपालका क्षेत्रमा एक वडा एक पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिनेगरी बजेट व्यवस्था गरिएको अध्यक्ष चिदीको भनाइ छ । विगतका वर्षमा सुरु भएका वडा नं. १ को मौरी पालन र तरकारी खेती , वडा नं. २ अदुवा खेती, वडा नं. ३ सुन्तला खेती, वडा नं. ७ मौरी पालन, वडा नं. ८ को मौरी पालन पकेट क्षेत्रलाई थप सुधार र अन्य बाँकी वडामाहरुमा माग र सम्भावनालाई ध्यानमा राखेर पकेट क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन गरिएको गाउँपालिका प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयो । उहाँले यसका साथै कृषकहरुलाई प्रविधि हस्तान्तरण, उत्पादनमा र मागमा आधारित अनुदानको व्यवस्था गरिने बताउनुभयो । यो समाचार करुवा पत्रिकामा प्रकाशित छ ।







