
पाल्पा । पूर्वखोला गाउँपालिका भित्रका चार स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था भएका छन् । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा निर्देशिका २०७९ मा तोकिएको मापदण्ड पूरा गरेका ३ नं. वडाको रिङ्नेरह, ४ नं. वडाको देविनगर, ५ नं. वडाको विरकोट र ६ नं. वडाको हेक्लाङ्ग स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । उहाँले गाउँपालिका भित्रका ६ वटै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने योजना रहेपनि आवश्यक सूचक पूरा नभएकोले १ नं. वडाको सिलुवा र २ नं. वडाको जल्ला स्वास्थ्य संस्थालाई आगामी वर्ष घोषणा गरिने बताउनुभयो ।
स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था बनाउन १६ वटा भौतिक पूर्वाधार, सेवा प्रवाह, जनशक्ति, खानेपानी, औजार, औषधिको उपलब्धतालगायतका विभिन्न सूचनाहरु पूरा गर्नुपर्छ । जसमा न्यूनतम १५ वटा पूरा भएमा घोषणा गर्न सकिने भएकोले चार स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यसले स्वास्थ्य चौकी व्यवस्थापन समिति र वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई सक्रिय समेत बनाउने प्रमुख ढकालको भनाइ छ ।
वडाका स्वास्थ्य संस्थकोे अगुवाईमा स्वास्थ्य चौकी व्यवस्थापन समिती , वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति, यस वडाका जनप्रतिनिधी, वडा कार्यालयको कर्मचारी, विषयगत एकाइको कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणाका लागि आवश्यक सुचकहरुको बारेमा अभिमुखिकरण, स्वास्थ्य संस्थाको अवस्था मुल्याङ्ककंन, पोषण तथा स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने संख्यामा वृद्धिका लागि स्वास्थ्य आमा समूह, विद्यालय स्वास्थ्य शिक्षा, गाउँघर क्लिनिक र खोप क्लिनिकमा पोषण स्वास्थ्य शिक्षा सञ्चालन, तथा पोषण परामर्श कार्यलाई निरन्तरता दिएर पोषणमैत्री स्वास्थ्य संस्था बनाइएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै दुई स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन तथा प्रमाणीकरण समेत गरिएको छ । गाउँपालिकाले ३ नं. वडा रिङ्नेरह र ५ नं. वडा विरकोटको स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका रुपमा प्रमाणीकरण गरिएको हो । आवश्यक कुल ४५ सुचक मध्ये ३६ वटा सूचक पूरा गरेमा प्रमाणीकरण गर्न सकिने प्रावधान अनुसार काम भएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो ।
जसका लागि स्वास्थ्य संस्थावाट यौन तथा प्रजनन् स्वास्थ्य, परिवार योजना वा परिवार सेवा, पोषण सम्बन्धी जानकारी, यौनजन्य संक्रमण तथा एच.आई.भी. नियन्त्रण, रोगथाम बारेमा जानकारी, हिंसावाट बच्ने उपायको बारे जानकारी, लागु पदार्थ दुव्र्यसनबाट बच्ने उपाए, नसर्ने रोगहरुको रोगथाम तथा नियन्त्रण सम्बन्धी जानकारी, मानसिक समस्या सम्बन्धी जानकारी र परामर्श र प्रेषण सेवालगायतको सुनिश्चिता हुनुपर्ने प्रमुख ढकालको भनाइ छ ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्था पोषण र किशोर किशोरी मैत्री बन्दा महिला तथा किशोरीहरुलाई सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । उहाँले अझै पनि किशोरीहरु आफ्ना स्वास्थ्य समस्याहरु खुलेर बताउन सक्ने अवस्था नरहेकोले यस विषयमा सहजीकरण गर्न गाउँपालिकाले पोषण र किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणालाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।