पाल्पा । तानसेन नगरपालिकाको नगर सभाको १५ औं अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो बैठक सकिएको छ । बैठकको कार्यसूचि अनुसार नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभयो । उहाँले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा अधिकांश नियमित र पुरानैशैलीका विषयवस्तु समेटिएका छन् ।
तानसेन नगरपालिकालको प्रस्तावित ५ वर्षे आवधिक योजनाको समृद्ध सांस्कृतिक नगर भन्ने दीर्धकालीन सोच र निर्धारित लक्ष्यका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । समग्र नगरको विकासका लागि आवश्इकता अनुसार समन्वय र सहकार्यमा काम गर्ने नीति अघि सारिएको उहाँको भनाइ थियो ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्वस्थ, शिक्षित, उद्यमशील, व्यवसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने स्वच्छ, सुन्दर, पर्यटकीय व्यवस्थित समावेशी र समृद्ध सांस्कृतिक नगरपालिका भन्ने नारालाई प्राथमिकता दिइएको छ । करिब १६ पृष्ठको नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन शीर्षकका विभिन्न उपशीर्षकमा नगरवासीको माग र आवश्यकतालाई सम्बोधन गरी जीवनस्तर सुधार गर्ने विषयलाई जोड दिइएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरवासीसंगको प्रत्यक्ष साक्षात्कारका लागि घरआगनमै नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, नगरगान र नगरको लोगो निर्माण, स्थापना दिवसलाई नगर दिवसका रुपमा मनाउने जनाएको छ । यसका साथै ५ लाख भन्दा कमका योजनाहरु वडास्तरबाटै स्म्झौता र कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । नगरभित्र आर्थिक क्षेत्रमा नविनतम कार्य गरी कम्तिमा ५० जना नगरवासीलाई प्रत्यक्ष रोजगार दिनेलाई मेयर उत्कृष्ट उद्यमी व्यवसायी उपाधिले सम्मान गर्ने, ऐतिहासिक कला, साहित्य र संस्कृति, सम्पदा, विज्ञान प्रविधि, शिक्षा स्वास्थ्यका क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको सहभागितामा तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गर्ने, अदुवा भण्डारन गृहमा अदुवा भण्डारन गर्ने कृषकहरुलाई केजीमा ५ रुपैया अनुदान दिने, पाल्पाली ढाकाको प्रर्वद्धनका लागि प्रत्यक शुक्रबारका दिन नगरपालिका मातहतका जनप्रतिनिधि र कर्मचारीहरुले ढाकाको पोशाक र टोपी लगाउने नीति दिइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तैगरी स्थानीय सामाजिक सुरक्षा अन्तरगत ग वर्गका अपांगता भएका व्यक्तिले प्राप्त गर्दै आएको मासिक पाँच सय भत्ता र न्यूनतम युनिटको विद्युत महसुल अनुदान कार्यक्रमले निरन्तरता पाएको छ भने अपांगता भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचारको क्रममा लाग्ने सार्वजनिक यातायातको २ पटकको गाडीभाडाको रकम नगरपालिकाले सहयोग उपलब्ध गराउने भएको छ । यसका साथै महिलाको प्रजनन् स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपप्रमुखसंग महिला स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, एचआइभी संक्रमित र ६० वर्ष माथिका अविवाहित पुरुषलाई मासिक पाँच सय भत्ता दिने स्वस्थ नागरिक स्वस्थ नगर नीति अनुसार एक वडा एक हरित पार्कका साथै खुल्ला व्यायामशाला निर्माण गर्ने, शिक्षा क्षेत्रमा नयाँ अभियानका रुपमा नगर प्रमुख छात्रवृत्ति कार्यक्रम ल्याइएको छ । स्थानीय पूर्वाधार विकासका लागि मेयर पूर्वाधार विकास कार्यक्रम र नगर उपप्रमुखसंग महिला, बालबालिका तथा अपांगतामैत्री पूर्वाधार निर्माणका कामलाई प्रभावकारी रुपमा अगाडि बढाइने भएको छ ।
सभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को लागि करिब एक अर्व ७६ करोड ७६ लाख २० हजार ९ सय ५७ रुपौयाँको अनुमानित वार्षिक बजेट, विनियोजन विधेयक, मध्यमकालिन खर्च संरचना २०८१ र न्यायिक समितिको चालु आर्थिक वर्षको जेष्ठ महिनासम्मको प्रतिवेदन उप प्रमुख प्रतीक्षा सिंजालीले प्रस्तुत गर्नुभयो ।
यसका साथै बैठममा तानसेन नगरपालिकाको आर्थिक विधेयक २०८१ आर्थिक विकास समितिका संयोजक हेमन्त राज शाक्यल पेश गनुर््भएको छ । यस्तै तानसेन नगरपालिकाको प्रज्ञा प्रष्ठिान विधेयक २०८१ र तानसेन नगरपालिकाको लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ विधायन समितिका संयोजक महेश्वर श्रेष्ठले पेश गर्नुभएको छ ।
सभामा पेश भएको नीति तथा कार्यक्रम र विधेयक माथि छलफल अर्को बैठकमा हुने जानकारी गराउर्दै नगर प्रमुख श्रेष्ठले छलफलमा सहभागी हुन इच्छुक सभाका सदस्यले असार २५ गतेसम्म सचिवालयमा नाम दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । सभाको दोस्रो बैठक आगामी असार २८ गते शुक्रबार दिनको १ बजे बस्ने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।