
पाल्पा । रामपुर नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औं अधिवेशनको पहलिो बैठकमा नीति तथा कार्यक्रम सहित ७३ करोड ८५ लाख ४ हजारको बजेट सार्वजनिक गरिएको हो ।
नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । उहाँले विगतका कार्यक्रमलाई निरन्तरता दिँर्दै नगरले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभयो । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ विजनमा आत्मनिर्भर गराउन विजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तर गर्दै व्यावसायिकरण गर्ने, व्यावसायिक कृषि तथा पशुपन्छी फर्म विस्तारका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, स्थानीय वस्तुको उपभोग र उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार सञ्चालन गर्ने, निस्दीखोलालगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएको नगर प्रमुख थापाले उल्लेख गर्नुभयो ।
विदेश बाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सीपको विवरण समेत अद्यावधिक गरी स्थानीय तहमा रहेका रोजगारदाताहरु संग समन्वयमा रोजगारी प्रदान गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि राम कथा संग सम्बन्धित क्षेत्र, मठ मन्दिर, कुण्ड, नदी, ताल तलैया जोड्ने गरी रामायण सर्किटको अवधारणा अघि बढाउने, होटल व्यवसायी, उद्योग वाणिज्य संघ र छिमेकी स्थानीय तह संग सहकार्य गरी यस वर्ष पर्यटन महोत्सव सञ्चालन गरिने थापाले बताउनुभयो ।
अधिवेशनमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८१÷०८२ को लागि आर्थिक विद्येयक र विनियोजन विद्येयक प्रस्तुत गर्नु भएको थियो । यसका साथै सभामा आगामी आर्थिक वर्षको बजेट समेत सार्वजनिक गरिएको छ । जसमा चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पूँजिगत तर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख ४ हजार विनियोजन गरिएको बताउनुभयो । जस मध्ये आर्थिक विकास तर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
नगरपाललिकाको आय तर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश सशर्त १ करोड र आन्तरिक स्रोत बाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।
सभामा विद्यायन समितिका संयोजक मीन बहादुर सिंजालीले प्रस्तुत गर्नु भएको स्थानीय युवा परिषद् विद्येयक , लेखा समितिका संयोजक तेज बहादुर राना, विद्यायन समितिका संयोजक मीन बहादुर सिंजाली, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर रानाले पेश गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरिएको छ । सभामा रामपुर नरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले आफ्नो भनाइ राख्नुभएको थियो । साथै सभाको शून्य समयमा रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा, ८ का वडा अध्यक्ष दिनेश आचार्य, १० का अध्यक्ष तोयानाथ सारु थापालगायतले सुझाव राख्नु भएको थियो ।
नगर सभाको अवसरमा रामपुर नगरपालिकाले उत्कृष्ट कर्मचारी, करदाता, टोल विकास संस्था संगै पत्रकारलाई सम्मान गरेको छ । नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडा सचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार तारा बहादुर सेन, सवारी चालक केशवराज गैरे, कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्र सूर्य हार्डवयरका व्यवस्थापक दिपक आचार्य, पन्थे बरादी गैरा टोल विकास संस्था र पत्रकार इमान सिं रानालाई नगद र सम्मान पत्र सहित सम्मान गरेको हो ।
साथै सभामा रामपुर नगरपालिकाले नगरको भुगोल, मुख्य पर्यटकीय एवं ऐतिहासिक स्थललाई समेटेर तयार गरेको लोगो सार्वजनिक गरिएको छ । सभामा प्रस्तुत भएको आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि थप छलफलको लागि दोस्रो बैठक आगामी असार २० गते बस्ने गरी सभाको पहिलो बैठक सकिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिनुभयो ।