स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि बगनासकालीको प्राथमिकता

पाल्पा । बगनासकाली गाउँपालिकाले आगामी वर्ष आर्थिक विकास, सामाजिक, सांस्कृतिक, विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिलगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नागरिकसंग विकास र समृद्धिमा जोडिने गरी विषयगत प्राथमिकता तोकरे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभाको १६ औं अधिवेशन प्रारम्भ गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

अध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकासका लागि सबैको सहमती र सहकार्य अनुसार अघि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकामा सुशासन र नागरिकको सेवामा सहज पहुँचका लागि विशेष प्राथमिकता दिएर काम गरिरहेको समेत बताउनुभयो । गाउँपालिकाको आर्थिक विकास, सामाजिक, सांस्कृतिक, विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिलगायतका क्षेत्रमा नागरिकसंग जोडिने कार्यक्रम आगामी आर्थिक वर्षको प्राथमिकतामा राखिएको अध्यक्ष चिदीको भनाइ थियो ।

नीति तथा कार्यक्रममा विद्यार्थी संख्या र आवश्यकताको आधारमा विद्यालय समायोजन गर्ने, आवश्यकता अनुसार छात्रावासको व्यवस्थापन गरेर वीग स्कुलको अवधारणमा जाने, प्रत्यक वडामा विकासमा महिला सहभागिता बढाउन कम्तिमा ३ वटा महिलाहरुको उपभोक्ता समिति निर्माण गरी कार्यान्वयन गर्ने, घरेलु मदिरालाई नीति, विधि र विधान निर्माण गरी विक्री वितरण गर्न सहज बनाउने, युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने विषय समेटिएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा सहकारी मार्फत साना तथा घरेलु उद्योग संचालनमा ल्याउने, कृषि क्षेत्रमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपीआर बनाई सोही अनुसार विकास निर्माण गर्दै जाने, गाउँपालिकालाई बन्द हडताल नहुने पालिकाको रुपमा चिनाउन सहज वातावरण तयार गर्ने अध्यक्ष चिदीले बताउनुभयो । उहाँले प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक योजना सञ्चालन गर्ने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, विपद् व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गर्ने, पूर्ण अपांगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने, सरसफाई, स्वच्छ खानेपानी, प्लास्टिकको प्रयोगमा कमि ल्याउन स्थानीय स्तरमा पाइने सालको पातको दुना टपरी प्रयोग बढाउनेलगायतका क्षेत्रमा बजेट विनियोजन गर्ने नीति ल्याइएको जानकारी गराउनुभयो ।

नीति तथा कार्यक्रममा सुधारिएको चुल्होको व्यवस्था गरी समग्र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, प्रविधिको पहुँचमा विस्तार गर्ने, कोशेली घरको स्थापना गरी स्थानीयस्तरमा उपलब्ध सामग्रीहरुको किनबेच गर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमलाई विशेष सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले बगनासकाली गाउँपालिकाले स्थानीय तहमा हुनुपर्ने संसदिय अभ्यासको राम्रो नमुना प्रस्तुत गरेको बताउनुभयो । उहाँले सबैको मनोभावना बुझ्दै सबैलाई समेटेर बजेट प्रस्तुत गरिनु नागरिकको लागि राम्रो विषय भएको बताउनुभयो । सांसद गैरेले गाउँपालिका भित्रको शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, सामाजिक संघसंस्था, विकास निर्माणलगायतका विषयमा मसिनो ढंगले अध्ययन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गर्दै आवश्यक विकास निर्माण र नीतिगत विषयमा आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सभा सञ्चालन गर्दै सभामा प्रस्तुत हुने कार्यसूचि र सभाका सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो । अधिवेशनको आगामी बैठक असार ९ गते बजेट घोषणा गर्ने गरी बस्ने प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिनुभयो । याे समाचार करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर