रैनादेवी छहराको नीति तथा कार्यक्रम सार्वजनिक

रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिको १६ औं गाउँ साभाले नीति तथा कार्यक्रमसहित तीन वटा कार्यविधि समेत पास गरेको छ ।

गाउँ सभामा कुटानी पिसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१, कृषि क्षेत्र हानिकारक वन्यजन्तुबाट जोखिम न्यूनीकरणको लागि पूर्वाधार निर्माण कार्यक्रम संचालन कार्यविधि २०८१ आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेलले र रैनादेवी छहरा गाउँपालिकाको शिक्षकको सरुवा तथा काज व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्कीले पेश गर्नुभएको कार्यविधि छलफल सहित पास गरिएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले कृषि पेशालाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई विविधिकरण, यान्त्रीकरण र व्यावसायिकरणमा जोड दिने, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य मार्फत सामाजिक विकासमा जोड दिने, यातायात सिंचाई खानेपानी जस्ता पूर्वाधारको निर्माणमा जोड दिने, स्थानीय स्रोत साधनको अधिकतम परिचालन मार्फत नागरिकको जीवनस्तरमा सुधार तथा गरिवी न्यूनीकरण गर्ने, लक्षित तथा पिछडिएको वर्गको जीवनस्तरमा सुधार ल्याउने, सुचना प्रविधिमैत्री सेवा मार्फत सुशासन प्रवद्र्धनमा तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, दिगो विकास, जैविक विविधता तथा वातावरण संरक्षणमा ध्यान दिने र आवधिक योजना, सडक गुरुयोजना र भू–उपयोग नीतिलाई प्रमुख आधार मानी कार्यक्रम सञ्चालन गर्नेगरी प्राथमिकताका विषय राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।

उहाँले कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, स्थानीय कला संस्कृतीको संरक्षण, सहकारी तथा वित्तीय क्षेत्र, उधोग तथा पर्यटन, पूर्वाधार विकास, भवन तथा आवास सहरी विकास, सिंचाई उर्जा तथा विधुत, सूचना तथा संचार, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासमा जनताले महसुस गर्नेगरी कार्यक्रम सञ्चालनको योजना बनाइएको जानकारी गराउनुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रममा आधारभुत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने, अत्यावश्यक उपकरण औषधि र दक्ष जनशक्तिको आपूर्ति सुनिश्चित गर्ने, सुत्केरी आमा पोषिलो खाना कार्यक्रम गर्ने, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा प्रयोगशाला सहितको सेवा, नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निशुल्क जाँच र उपचारको प्रवन्ध मिलाउने, निर्माणाधीन १५ शैयाको आधारभूत अस्पताल समयमै सम्पन्न गर्नका पहल गरिने, ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई घरमै उपचारको व्यवस्थाका साथै ८० वर्ष माथिका बुवाआमालाई स्वास्थ्य बा–आमा कार्यक्रम“ मार्फत घरघरमै सेवा दिइने योजना अघि सारेको छ ।

यसका साथै आगामी आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले गौरवका आयोजनाको रुपमा सुन्दरेढुङ्गा जुठापौवा सालझण्डी सडक र छहरा धजावान्ने– तानसिङ्गल – सातमुरे सडक संघीय समपुरकको रुपमा अगाडी बढाउने जनाएको छ । यस्तै धजावान्ने ३ नं वडा कार्यालय तालपोखरा–अर्घाखाँची सडक, तानसिङ्गल – सोमादी–सिद्धेश्वर सडक र मेहलछेडा ज्यामिरे बुढीदमार– हात्तीकुना सडक प्रदेश समपुरकको रुपमा अगाडी बढाइने भएको छ । एक वडा एक गौरबको योजना तथा कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै शिक्षातर्फ प्राविधिक शिक्षाका लागि छात्रावृती कार्यक्रम, विद्यालय नर्स कार्यक्रम र बुक फ्रि डे जस्ता कार्यक्रम सञ्चालन गरिने छ । प्रस्तुत नीति तथा कार्यक्रममा माथि सभाका सदस्यहरु नारायणी गहतराज, सूर्यबहादुर कार्की, धन बहादुर रायमाझीलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । १६ औँ अधिवेशनको दोस्रो बैठक २०८१ असार १० गते बस्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर