पाल्पा । रामपुर नगरपालिकाले सञ्चालन गरेको निशुल्क लोक सेवा आयोग तयारी कक्षा सकिएको छ । ४५ दिनेसम्म चलेको लोक सेवा आयोग तयारी कक्षाको मंगलबार समापन गरिएको छ ।
समापन कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले लोक सेवा आयोग पढ्न रुचि भएका विद्यार्थीहरुको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले लोक सेवा आयोग तयारीका लागि मार्ग दर्शनको रुपमा कक्षा सञ्चालन गरिएको भन्दै सफलताका लागि लगनशील भएर अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ लगनशीलता र निरन्तरताको खाँचो रहेको नगर प्रमुख थापाको भनाइ थियो ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले लोक सेवा आयोग बारे आधारस्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । तालिममा सहभागीले सिकाई अनुसारको उपलब्धि हासिल गर्न सफल हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाले सञ्चालन गरेको निशुल्क लोक सेवा आयोग तयारी कक्षाको उपलब्धि र औचित्य पूरा गर्नका लागि परीक्षामा सफल भएर राष्ट्र सेवक कर्मचारी बन्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले लोक सेवा आयोगको बाटो मात्रै देखाएको भन्दै सफलताका लागि आफै मेहनतका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाका स्ववीयु सभापति ल्याकत अली, सहभागि विद्यार्थी सुरक्षा घिमिरे, पुजा पगेनी र संगिता बस्यालले बोल्दै लोक सेवा आयोग बारे जान्न र ज्ञानको अभिवृद्धिका लागि कक्षा सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै लोक सेवा आयोग तयारी कक्षा अवधिभरमा उत्कृष्ट हुने ३ जना सहभागिलाई पुरस्कृत समेत गरिएको थियो । सहभागी मध्ये पुजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत हुनुभएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो ।