कौडेलेकमा भ्यू टावर

पाल्पा । माथागढीको ३ को कौडेलेकमा भ्यू टावर निर्माण गरिएको छ । माथागढीका भूपू सैनिकहरुको अगुवाइमा भ्यू टावर निर्माण गरिएको हो ।

भ्यू टावरको गत हप्ता लुम्विनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले उद्घाटन गर्नुभएको हो । उहाँले भूपू सैनिकहरुको विकास निर्माण प्रतिको लगनशीलता प्रशंसनीय भएको बताउनुभयो । स्थानीय सरकारसंगको समन्वयमा आफ्नो क्षेत्रको पर्यटकीय विकास सहयोगी भूमिका निर्वाह गर्ने भूपू सैनिकहरुको कर्मले नमुना सन्देश दिएको बताउनुभयो ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जिल्लाकै अग्लो स्थान कौडेलेकको पर्यटकीय विकासका लागि गाउँपालिकाले पैदलमार्ग, विश्राम स्थललगायतका काम गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष बिजुली, पानी र बाँकी रहेको स्थानमा पैदलमार्ग निर्माण गर्ने बताउनुभयो । ओलेसका नागरिकको आर्थिक विकासका लागि गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अवधारणा ल्याएको अध्यक्ष चिदीले बताउनुभयो ।

लुम्विनी प्रदेश सरकारका पूर्व मन्त्री रमा घर्तीले ओलेस र कौडेलेकको विकासका लागि सबैको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले आवश्यक पूर्वाधारको विकास, ओलेसका नागरिकको क्षमता अभिवृद्धिलगायतका काम गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति सदस्य केशमाया सुनार, माथागढी–३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले ओलेस र कौडेलेकको विकासमा जनप्रतिनिधिको पहिलो प्राथमिकता रहेको बताउनुभयो । सीमित स्रोतका बिच विकासमा सबै क्षेत्र र टोललाई समेट्नुपर्ने भएकोले चाहना अनुसार काम गर्न नसकेको समेत बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताको चाहनाले मात्र ओलेस र कौडेलेक जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा विकास हुने विचार राख्नुभयो ।

भू टावर निर्माणका लागि करिब १३ लाख ७७ हजार संकलन भएको निर्माण समितिका सचिव ज्ञानबहादुर चिदील जानकारी दिनुभयो । कौडेलेक पाल्पाको सबैभन्दा अग्लो स्थान हो । जहाँबाट तराईतर्फका बुटवल, भैरहवा, सु्नौली, भारतको नौतनवा, गोरखपुरलगायतका क्षेत्रको दृश्य अवलोकन गर्न सकिन्छ । यस्तै उत्तरतर्फ दर्जनौ हिमश्रृङ्खलाहरू हेर्न सकिने स्थानीय बासिन्दाले बताएका छन् । कौडेलेक समुद्री सतहदेखि एक हजार ८३६ मिटर अग्लो स्थानमा रहेको छ । यस्तै कौडेलेकको काखमा मगर समु्दायको मात्र बसोबास रहेको ओलेस गाउँ रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय