पाल्पा । पूर्वखोला गाउँपालिकाले नागरिकको आधारभूत आवश्यकतामा लगानी गर्दै आएको जनाएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र पशुपालनमा नागरिकको सहभागिता सुनिश्चित गर्ने गरी पहिलो प्राथमिकता दिएर योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको हो ।
गाउँपालिकाले नागरिकलाई सहज आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माणको कामलाई तीव्रता दिएको अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ६ वडामध्य ४ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको र चालु आर्थिक वर्षमा जल्पा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गरिएको बताउनुभयो । गाउँपालिको १ नं. वडा सिलुवामा भवन निर्माणाधीन छ भने ४ नंं. वडा देविनगरको नयाँ भवन बनाउने योजना अगाडि सारिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नियमित रुपमा आधारभूत स्वास्थ्य सेवा, विद्यालय स्वास्थ्य शिक्षा कार्याक्रम, किशोरकिशोरी लक्षित कार्यक्रम, ज्येष्ठ नागरिकको घरमै उपचार र सम्मान, आँखा परीक्षण तथा विशेषज्ञ सहितको शिविर सञ्चालन गरेर नागरिकलाई स्वस्थ राख्ने काममा सहजीकरण गर्दे आएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा पछिल्लो समय बसाईँसराई गर्नेको संख्या कम रहेको छ । तर, पहिलानै रोजगारी र अवसरका लागि बसाईँसराई गरेकाले अहिले कागजपत्र बनाउँदा संख्या बढी भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले अवसर र आर्थिक आयआर्जनका लागि हुनसक्ने बसाईँसराईलाई रोक्न र नागरिकको आर्थिक विकासका लागि निर्वाहमूखी कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउर्दै लगिएको बताउनुभयो । जसमा मकैको बीउ उत्पादन पकेट क्षेत्रको विकास गरिएको छ । त्यस्तै तरकारी, फलपूmल, पशुपालनकाका लागि क्षमता विकासका लागि तालिम, खोर व्यवस्थापनमा अनुदान र खेतीमा आधुनिक कृषि औजार प्रयोगका लागि औजार वितरण कार्य गरिएको अध्यक्ष थापाले बताउनुभयो । आवश्यकता अनुसार सडक पहुँचमा वृद्धि , खानेपानी, विद्युतका क्षेत्रमा ध्यान दिएर काम भएको गाउँपालिकाले जनाएको छ ।
आगामी वर्षमा गाउँपालिकाले भूमी बैक निर्माण गरेर कृषिजन्य उत्पादनका लागि एकीकृत रुपमा पकेट क्षेत्र बनाएर काम गर्ने योजना रहेको अध्यक्ष थापाको भनाइ छ । यस्तै गाउँपालिकाको जनसंख्या घट्दो क्रममा छ । भएका बालबालिको शैक्षिक गुणस्तर वृद्धिका लागि ध्यान दिइएको उहाँले बताउनुभयो । विश्व बजारमा विक्ने र प्रतिप्रस्र्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्रविधिमैत्री सिकाईलाई जोड दिइएको अध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाको लामो समयको लगानी पछि पर्यटन विकासबाट नागरिकले फाइदा लिन सफल भएको समेत अध्यक्ष थापाले बताउनुभयो । २ नं. वडाको जल्पा ढोलिमारमा स्थापना भएको होमस्टे, किबी खेती पकेट क्षेत्र नमुनाको रुपमा अगाडि बढेको उहाँको भनाइ छ । गाउँपालिका भित्र रहेका एतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको व्यवस्थापकमा जोड दिइएको अध्यक्ष थापाले बताउनुभयो । सहकारी संस्थाको व्यवस्थापन, वन तथा वातावरण, विपद् व्यवस्थापन गुरु योजना निर्माणको काम गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले सबै क्षेत्रमा बराबर प्राथमिकता राखेर काम गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रासद श्रेष्ठले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा काम गर्नेगरी योजना तर्जुमा गरिएका करिब तीन सय योजनामध्य अधिकांशको फरफारकको काम सकिएको बताउनुभयो । उहाँले यस वर्ष गाउँपालिकाले जिल्लामै पहिलो हुनेगरी भू उपयोग वर्गीकरणका सबै काम सकिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । याे समाचार करूवा पत्रिकामा प्रकाशित छ ।