‘ज्योतिर्गमय’ कृति लोकार्पण

पाल्पा । साहित्यकार एवं पत्रकार निलकण्ठ न्यौपानेको ‘ज्योतिर्गमय’ आत्मकथाको लोकार्पण भएको छ । शनिबार पाल्पाको पर्यटकीय एवं धार्मिक स्थल रम्भादेवीको मन्दिर परिसरमा कृतिको लोकार्पण भएको हो ।

प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष एवं साहित्यकार प्रा.डा. कपिल लामिछाने, प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्य, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालगायतले संयुक्तरुपमा आत्मकथा लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्रा.डा. लामिछानेले प्रकाशित आत्मकथा पुस्तक लेखक आफ्नै जीवनी रहेको बताउनुभयो । पुस्तकमा लेखकले बाल्यकालदेखि भोगेका अनुभव, अनुभूति तथा यथार्थ भोगाई समेटिएको बताउनुभयो । उहाँले लेखकको भनाइ र पुस्तकबाट आफूले रम्भापानीलाई चिन्न सकेको बताउनुभयो ।

विशिष्ट अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले नेपाली भाषामाथि प्रहार भइरहेको अवस्थामा पत्रकार न्यौपानेले लेख्नुभएको कृतिले नेपाली भाषा र साहित्यको उत्थान र विकासमा सहयोग पु¥याउने विस्वास व्यक्त गर्नुभयो । गाउँ, समाज र देशलाई सही दिशातर्फ डो¥याउन यस्ता साहित्यसिर्जनाको आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले साहित्यकार न्यौपानेले आफ्नो जीवनको भोगाई पुस्तकमा उल्लेख गरेको र त्यसले अर्को पुस्तामा ज्ञान संचार गर्न सहयोग मिल्ने बताउनुभयो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुहुँदै साहित्यकार डा.टंक पन्थले समाजमा रहेका उज्यालो पक्षलाई कृतिमा समेटिएको बताउनुभयो । उज्याला पक्षका सन्देशले पाठकलाई सत्मार्गमा अघि बढ्न प्रेरणा मिल्ने साहित्यकार पन्थको भनाइ थियो ।

कृतिका लेखक न्यौपानेले रम्भापानीमा आफूले बाल्यकालमा गरेको तपस्याबाट वृहत ज्ञान प्राप्त गरेकाले त्यसको ऋण तिर्न आफूले मन्दिर परिसरमा पुस्तक विमोचन गरेको बताउनुभयो । उहाँले मादक पदार्थ निरन्तर सेवन गर्ने अम्बली मानिसजस्तै आफू लेख्नमा अम्बली बनेको बताउनुभयो । निरन्तर लेख्ने बानीले नयाँ कृति प्रकाशित गर्न सहयोग मिलेको र यसका मद्दत गर्ने सबेलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले लेखकको निरन्तर लेखाइका लागि शुभकामना दिनुभयो । कार्यक्रम रम्भा पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षता, सचिव प्रकाश श्रेष्ठको स्वागत र धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय