कृषि तथा पशुपालनलाई रिब्दीकोटको प्राथमिकता

पाल्पा । रिब्दीकोट गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकता दिएर काम गरेको जनाएको छ । भौतिक विकासले मात्र स्थानीय तहमा नागरिक गाउँमा अडिने अवस्था नरहेकोले नागरिकलाई आयआर्जन संग जोडेर गाउँमै राख्नका लागि विषयगत रुपमा प्राथमिकता तोकेर काम गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले म बनाउछु मेरो रिब्दीकोट, खनौ आफ्नो माटो, छाड्यौं विदेशको बाटो र मेरो रिब्दीकोट मेरो स्वर्ग, मेरो गर्व जस्ता नारालाई आत्मसाथ गरेर कृषि र पशुपालनको क्षेत्रको विकासका लागि तीव्र रुपमा काम गरिएको बताउनुभयो । गाउँपालिकामा करिब २ हजार ६ सय घरपरिवार कृषिमा निर्भर छन् । अहिलेको अवस्थामा न्यूनतम ८ घण्टा कृषि क्षेत्रमा काम गरे यहाँको एक परिवारले न्यूनतम २५ हजार कमाउन सक्ने अवस्था बनेको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले १७ सय रोपनीमा अकबरे खुर्सानी लगाउने अभियान भएपनि असिना पानीले गर्दा समस्या भएको र ११ सय रोपनीमा साढे आठ लाख विरुवा लगाइएको गाउँपालिकाले जनाएको छ । यहाँका करिब १२ सय परिवारले अकबरे खुर्सानी खेती गरेका छन् । यो समाचार करुवा पत्रिकामा प्रकाशित छ ।

आगामी वर्ष गाउँपालिकामा रहेका ७१ टोलमा सम्भावना अनुसार बाख्रा, कुखुरा, भैसी, सुन्तला, टमाटर टमाटर, अकबरे खुर्सानी, सुन्तलालगायतको पकेट क्षेत्रका रुपमा विस्तार गर्ने योजना अगाडि सारिएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले प्रत्यक टोलमा ५० लाखको योजना अनुसार ३६ करोड लगानीमा कृषकलाई कृषि क्षेत्रमा आकर्षित गरिने बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार गुजाराको कृषि खेतीलाई व्यवसायिक बनाएर कृषि उपज आयातलाई निरुत्साहित गर्ने उद्देश्य रहेको छ । यस वर्षमात्रै गाउँपालिकाबाट पौने ६ करोडको सुन्तला, साढे ४ करोडको दुग्ध विक्री भएको जानकारी दिनुभयो । अकबरे खुर्सानी, काँक्रा, टमाटर उत्पादन तथा विक्री भएको छ ।

यस्तै पशुपालनका लागि बाख्राको खोरमा अनुदान उपलब्ध गराइएको छ । न्यूनतम एक लाख देखि तीन लाख सम्म ८० परिवारलाई सहयोग गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । नागरिकको माग र आवश्यकतालाई उच्च प्राथमिकता दिएर आर्थिक विकासका गरी बसाईँ सराई रोक्नका लागि काम गरिएको उहाँको भनाइ छ । यस्तैगरी नागरिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन सबै वडामा आधारभूत स्वास्थ्य सेवा नियमित गरिएको छ । यस वर्ष शिविर मार्फत ५ हजार २ सय ३ जनाको आँखा परीक्षण गरिएको छ । जसमा ८२ जना मोतिया विन्दु भएका नागरिकको शल्यक्रिया गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । यसका साथै लुम्बिनी मेडिकल कलेजसंगको सहकार्यमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराइएको छ ।

विगतका वर्षमा टुक्रे र थौरै रकमको योजनाहरु सञ्चालन हुनेगरेकोमा अहिले ठूला योजना सञ्चालन गरिएको छ । न्यूनतम ८० लाख भन्दा बढीका साढे सात करोडको सडक तथा खेलकुद मैदान निर्माणको काम भैरहेको छ । अहिले बतासे फेक सडक, देउराली शान्तीचौर सडक, हटिया ठिमूरे सडक, हार्थोक पिएचसी सकड, जलेश्वर क्षेत्र, कोहल खेलकुद मैदान २ नं. वडा दउरालीेमा निर्माण कार्य भैरहेको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले बाह्रै महिना यातायाता सबै वडामा पुग्ने सुनिश्चित गरिएको बताउनुभयो ।

गाउँपालिकाले शिक्षाको गुणस्तर एकिन गर्न अन्तर विद्यलाय उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको छ । कम विद्यालय भएका ८ नं. र ६ नं. वडाको प्राथमिक विद्यालय मर्ज गरिएको छ । यस वर्ष ४ नं. वडाको भैरवस्थान प्राथमिक विद्यालयको कक्षा कटौती गरिएको छ । याे समाचार करूवा पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर