नागरिकको आवश्यकतामा तिनाउ सरकारको ध्यान

पाल्पा । तिनाउ गाउँपालिकाले नागरिकको आवश्यकतालाई ध्यानमा राखेर काम गरेको जनाएको छ । तिनाउको समृद्धि र नागरिकको खुसीलाई पहिलो प्राथमिकतामा राखेर योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले शैक्षिक सुधार, विद्यालयको भैतिक पूर्वाधार निर्माणका कामहरु गरेको छ । जसमा संघ र प्रदेश सरकारसंगको समन्वयमा ३ विद्यालयमा भवन तथा शौचालय निर्माणको काम भएको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि १५ लाखको कम्प्युटर खरिद तथा थप ५ लाखबाट कम्प्युटर मर्मतको काम हुनेगरी अगाडि बढेको छ ।

गाउँपालिका भित्र रहेका ३९ सामुदायिक विद्यालयहरु मध्य कम विद्यार्थी संख्या भएका विद्यालयहरुलाई मर्ज वा कक्षा कटौती गर्ने काम पनि भएको छ । जस अनुसार यस वर्ष ६ नं. वडाका दुई आधारभूत विद्यालयको कक्षा कटौती गरेर प्रभावित विद्यार्थीहरुका लागि मस्याम माविमा आवासीय छात्रावास कार्यक्रम सुरु गरिएको प्रवक्ता अर्यालको भनाइ छ ।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको संरक्षण विकास र प्रचारप्रसारका लागि योवनाबद्ध रुपमा काम गरेको जनाएको छ । ५ नं. वडाको जन्तीलुहुङ र ४ नं. वडाको सत्यवतीमा पर्यटकहरुको बसाई लम्बाउने यस क्षेत्रका नागरिकको आयआर्जनमा मद्दत गर्नका लागि होमस्टे सञ्चालनको तयारी रहेको प्रवक्ता अर्याले बताउनुभयो । यसका लागि आवासका लागि बेड र होमस्टे व्यवस्थापन तालिम उपलब्ध गराउने तयारी रहेको उहाँले बताउनुभयो । यसका साथै पर्यटकीय क्षेत्रमा सहज रुपमा पर्यटक पुग्नका लागि आवश्यक सडकको स्तारोन्नतिका लागि आगामी वर्ष नतिजामुखी काम गर्ने प्रवक्ता अर्यालको भनाइ छ ।

गाउँपालिकावासीको आर्थिक विकासका लागि कृषि तथा पशुपालन क्षेत्रमा गाउँपालिकाले लगानी बढाएको छ । जसका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषकहरुको माग र आवश्यकता आधारमा पशुपालन क्षेत्रमा सहयोग उपलब्ध गराउने गरी काम भएको छ । यस्तै दालचिनी चिउरीको संरक्षण गरी आम्दानी बढाउने वातावरण तयार गरिएको छ ।
तिनाउ गाउँपालिमा रहेका ६ वडामा सहज रुपमा बाह्रै महिना आवतजावतको अवस्था निर्माणका लागि एक वडा एक नालि सहितको सडक निर्माण कार्य भएको छ । अहिले १ नं. वडामा पुग्ने कुर्मान खोला र ४ नंं वडा गोरवन्दी घाटमा पुल निर्माण बाँकी रहेको छ भने अन्य सबै वडामा सडक पहुँच रहेको छ । जसले गर्दा नागरिकलाई आवश्यकता अनुसार हिडडुल र उत्पादन भएको कृषि उपज विक्रीका लागि बुटवल तथा नजिकको बजारमा विक्री गर्न सहज हुर्दे आएको प्रवक्ता अर्यालको भनाइ छ ।

स्वास्थ्य सेवा सहज पहुँच नभएका नागरिहरुलाई घरदैलोबाटै सेवा दिने उद्देश्यले आवश्यकता अनुसार स्वास्थ्य एकाई सञ्चालनमा ल्याइएको छ । विभिन्न विषयमा स्वास्थ्य शिविर चलाइएको छ । अहिलेसम्म गाउँपालिका भित्र २ वडामा प्रसुति गृहसहितको गुणस्तरी स्वास्थ्य सेवा उपलब्ध छ भने आगामी दिनमा सबैवडामा यसको व्यवस्थापन गरिने छ । बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गर्नका लागि कार्यक्रम भैरहेको छ ।

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले समृद्ध तिनाउसंगै जनतालाई सुखी बनाउनेगरी काम गरेको बताउनुभएको छ । जसका लागि गाउँपालिकाले आर्थिक, पूर्वाधार, सामाजिक विकास, सुशासन र वन तथा वातावरणको विषयमा प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

यसका साथै गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले आगामी वर्षबाट आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनुभयो । उहाँले सामाजिक विकास, भौतिक पूर्वाधारमा पनि ध्यान दिइने उहाँको भनाइ छ । गाउँपालिकामा कृषि योग्य जमिन धेरै भएकोले युवालाई कृषि कर्ममा जोडने योजना बनाइएको उपाध्यक्ष थापाले बताउनुभयो । यो समाचार करुवा पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर