पूर्वखोलाका सहकारी पदाधिकारी र कर्मचारीलाई क्षमता विकास तालिम

पाल्पा । पूर्वखोला गाउँपालिकाले आयोजना गरेको सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरु क्षमता विकास तालिम सम्पन्न भएको छ । गएको आइतबारदेखि सुरु भएको चार दिने क्षमता विकास तालिम बुधबार सकिएको हो ।

गाउँपालिका ६ वटै वडामा रहेका सहकारी संस्थाको संस्थागत विकास तथा सहकारी संस्थाका पदाधिकारी तथा कार्यरत कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिकाका ६ वडामा १४ वटा सहकारी संस्था दर्ता भएका छन् । जसमध्य १० वटा सहकारी संस्था सक्रिय रुपमा नागरिकलाई सेवा प्रवाह गरिरहेका छन भने ४ वटा सहकारी संस्था निष्कृय रहेका छन् । तालिममा ३२ जनाको सहभागिता रहेको थियो । तालिममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डे, जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनी, पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक यज्ञ प्रसाद श्रेष्ठ र गाउँपालिका स्तरीय सहकारी समन्वय समिति संयोजक यमबहादुर खत्रीले सहकारी व्यवस्थापन र क्षमता विकासका विषयमा सहजीकरण गर्नुभएको सहकारी शाखा प्रमुख शर्मिला चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सहकारी संस्था हुँदा खाने वर्गको सारथी भएको बताउनुभयो । उहाँले सहकारीहरु उद्देश्य अनुसार आर्थिक रुपमा पछाडि परेको वर्गलाई उत्थान गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सहकारीका विषयमा आइरहेका नकरात्मक समाचारले कारोबार गर्नेहरुलाई पनि सहकारीप्रति अविश्वास बढ्को अध्यक्ष थापाको भनाइ थियो । त्यसैले पनि सहकारीका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुलाई सहकारीको मर्म अनुसार काम गर्नुपर्छ भन्ने उत्साह थप्न तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष भागीरथी शर्मा भट्टराईले सहकारीसंग आबद्ध नागरिकलाई समय अनुसार क्षमता विकास तालिम सञ्चालन गर्दा सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरा व्यवहारमा लागु गरेर सहकारीलाई थप व्यवस्थित गराउन आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले सहकारी संस्थाका सञ्चालकहरुलाई जिम्मेवार बनाउन र कर्मचारीको क्षमता विकासका लागि तालिम सफल भएको विश्वास व्यक्त गनुभयो । उहाँले सिकाइएको विषयबस्तु र गरिएको प्रतिबद्धता अनुसार गाउँपालिका भित्रका सहकारीहरुले थप प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने बताउनुभयो ।

यसैबीच गाउँपालिका भित्र दर्ता भएर निष्कृय रुपमा रहेका सहकारी संस्थाहरुका लागि एक दिने अन्तरक्रिय कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा २ वटा वडामा रहेका निष्कृय सहकारी संस्थाहरुको पदाधिकारीहरुलाई भेला गराई अन्तरक्रिया तथा छलफल गरिएको हो । जसमा सहकारी संस्थालाई प्रश्नावली फाराम भर्न लगाई निष्कृय सहकारी संस्थाहरुको सञ्चालक समितिका पदाधिकारीहरुलाई सहकारी संस्थालाई पूर्ण रुपमा सक्रिय रुपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता सहित हस्ताक्षर समेत गराइएको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग र सहजीकरण गाउँपालिकाले उपलब्ध गराउने तर नागरिकको सेवाका लागि स्थापना भएका सहकारीहरु नागरिकमैत्री भएर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर