सहकारीबाट पत्रकार सोमै सम्मानित

पाल्पा । पाल्पा जिल्लामा क्रियाशील पत्रकार रीमा सोमै सम्मानित हुनुभएको छ । तानसेन ८ निवासी सोमै सामुदायिक रेडियो मदनपोखरामा कार्यरत हुनुहुन्छ । उहाँलाई डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले सम्मान गरेको हो ।

तिनाउ गाउँपालिका ६ नं. वडामा रहेको सहकारीले आफ्नो ३१ औं स्थापना दिवसका अवसरमा पत्रकार सोमै सहित सहकारीको विकास र अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने ५२ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

स्थापना दिवसमा आयोजित औपचारिक कार्यक्रममा भर्चुअल विधिमार्फत लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सम्बोधन गर्दै कृषकको भरपर्दो सारथी नै सहकारी भएकोले कृषि र कृषकको आर्थिक रुपान्त्रणसहितको समृद्धिको लागि सहकारी प्रमुख माध्यम बनेको बताउनुभयो ।

तिनाउ गाँउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले डुम्रे दुग्ध सहकारीले जिल्लामै कृषकको मर्म अनुरुपको हितकारी नीति र कार्यक्रममार्फत समृद्ध कृषक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कृषकको उत्पादनको उचित मूल्य सहितको बजारीकरणमा गाउँपालिकाको सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारीका पूर्व उपाध्यक्ष राम प्रसाद पोखरेलले तिनाउको जेठो र नमुना सहकारी डुम्रे दुग्ध सहकारी नै रहेकोले बताउनुभयो । उहाँले यसले गाउँपालिकाको सम्रग कृषि र पशुपालन क्षेत्रबाट भविष्य बनाउन खोजेका कृषकलाई सहयोग पुगेको दावी गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका ८ नं. वडाका वडाध्यक्ष सोमनाथ अर्यालले सहकारीलाई अब प्रविधिसँग जोड्न सके सदस्यले सहज रुपमा सुविधा पाउने बताउनुभयो । उहाँले सहकारीले कृषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

सुजल डेरी उत्पादक संघ पोखराका संकलन विभाग प्रमुख गुरुदत्त पौडेलले यस सहकारीसंग सहकार्य गर्न पाउदा खुसी लागेको बताउर्दै किसानलाई नियमित भुक्तानीको लागि आफूहरुले पहल गरिरहेको बताउनुभयो ।

यस्तैगरी कार्यक्रममा सहकारी अभियन्ताहरु कृष्ण प्रसाद भुषाल, महेश्वर पन्त, केशव खनाल , रुक्मागत बस्याल, सिता जिसी कार्कीलगायतले डुम्रे दुग्ध सहकारीले अन्य सहकारीको लागि अध्ययन र सिकाई केन्द्रको रुपमा विकास भएको बताउनुभयो । उहाँहरुले वास्तविक कृषकको लागि सहकारीले उपलब्ध गराएको सेवाले कृषकलाई कृषि र पशुपालनमा टिकाउन मद्दत गरेको बताउनुभयो ।

२०५१ साल जेष्ठ २२ गतेबाट आफ्नो सेवा सुरु गरेको सहकारीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा बनेको सुविधा सम्पन्न साढे दुई तले भवनबाट कृषकलाई सेवा दिँर्दै आएको छ । जिल्लाको दश स्थानीय तहमध्य रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ र तानसेन नगरपालिका भित्रका ४ सय १० जना शेयर सदस्य रहेको सहकारीले दैनिक २ हजार लिटर दुध संकलन गर्दै बजारीकरणमा सहयोग गर्दै आएको अध्यक्ष दुर्गा खाड ठकुरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय