
पाल्पा । पाल्पाका दश स्थानीय तहमध्ये तिनाउ गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को ६१ औं वार्षिक प्रतिवेदनमा सार्वजनिक नतिजा अनुसार तिनाउ गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको हो ।
तिनाउ गाउँपालिकाको ९८ करोड १८ लाख ५५ हजार रुपंैयाँको लेखापरीक्षण गर्दा पाल्पामा सबैभन्दा कम बेरुजु आएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु रकम जम्मा ६९ लाख २७ हजार रुपैंयाँ मात्र रहेको छ । यो बेरुजु प्रतिशतमा शून्य दशमलव ७१ प्रतिशत मात्र हो । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले आर्थिक अनुशासन र नियममा रहेर योजना तथा कार्यान्वयन सञ्चालन गर्दा गाउँपालिकाको कम बेरुजु आएको बताउनुभयो । उहाँले अहिलेको बेरुजु पनि प्रक्रियागत समस्याले आएको भन्दै त्यसलाई समाधान गर्नेतर्फ लाग्ने बताउनुभयो । स्थानीय तहले बेरुजु घटाएर मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्दा आर्थिक वृद्धिदर बढाउन सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
गाउँपालिकाका लेखा अधिकृत शंकर पुरीले आफूहरुले बहुवर्षिय योजना सञ्चालन गर्दा ध्यान दिएर काम गर्दा बेरुजु कम आएको बताउनुभयो । उहाँले सकेसम्म बेरुजु कम हुनेगरी काम गर्दा गर्दै पनि विभिन्न समस्याले बढी आउने गरेको बताउँदै गत वर्ष अलि कडाईका साथ योजना कार्यान्वयन गरिएकोले यो नतिजा आएको बताउनुभयो । अहिले गाउँपालिकाबाट म्याद नाघेको पेस्की फरफारका लागि ताकेता र वर्षको अन्तिममा कुनै पनि पेस्की नराख्ने गरी काम गरिएको लेखा अधिकृत पुरीको भनाइ छ ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु पूर्वखोला गाउँपालिकाको देखिएको छ । पूर्वखोलाको गत आर्थिक वर्षमा ७ करोड १७ लाख २५ हजार अर्थात ५ दशमलव ७४ प्रतिशत बेरुजु रहेको छ । गाउँपालिकामा योजना तथा कार्यक्रम सञ्चालनमा प्रकृया पूरा नभएका सैद्धान्तिक बेरुजु बढी भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले गाउँपालिकामा बहुवार्षिक ठूला योजना र दिवा खाजालगायतका कामको प्रक्रियागत समस्याले बेरुजुको प्रतिशत बढाएको बताउँदै प्रमाण मिलाएर बैरुजु घटाउने प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।
त्यस्तै गत आर्थिक वर्षमा निस्दी गाउँपालिकाको ५ करोड ८ लाख ६६ हजार अर्थात ३ दशमलव ३३ प्रतिशत, माथागढी गाउँपालिकाको ४ करोड १ लाख ९४ हजार अर्थात २ दशमलव ७९ प्रतिशत, रम्भा गाउँपालिकाको २ करोड ३८ लाख ५४ हजार अर्थात २ दशमलव ०१ प्रतिशत, तानसेन नगरपालिकाको ३ करोड २ लाख ३३ हजार अर्थात १ दशमलव ७९ प्रतिशत बेरुजु रहेको छ ।
त्यस्तै गत आर्थिक वर्षमा रामपुर नगरपालिकाको २ करोड १६ लाख ९४ हजार अर्थात १ दशमलव २७ प्रतिशत,रैनादेवी छहरा गाउँपालिकाको १ करोड ४३ लाख ३४ हजार अर्थात १ दशमलव २३ प्रतिशत बेरुजु रहेको छ । त्यस्तैगरी रिब्दीकोट गाउँपालिकाको ९३ लाख ८६ हजार अर्थात १ दशमलव ०७ प्रतिशत र बगनासकाली गाउँपालिकाको ९८ लाख ७९ हजार अर्थात १ दशमलव ०१ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यो समाचार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित छ ।