वन उपभोक्ता महासंघको २९ ओैं स्थापना दिवस

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघको नेपालको २९ ओैं स्थापना दिवस पाल्पाको तिनाउमा शुक्रवार एक कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले वनलाई जोगाउन उपभोक्ताहरु सचेत र संरक्षणका लागि गतिशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वनलाई बहुप्रयोग गर्न सकिएमा वन डढेलो नियन्त्रण, जैविक मल निर्माण र वन उद्यम सञ्चालनका लागि सहज हुने बताउनुभयो । यसमा स्थानीय सरकारबाट आवश्यक सहजीकरणका लागि वजेट विनियोजन गर्न गाउँपालिका तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

विशिष्ट अतिथि वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर थापाले सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन समन्वय समिति तिनाउले वन जोगाउन विशेष पहल गरेको बताउनुभयो । उहाँले वनको संरक्षण संगै प्रयोगबाट आमउपभोक्ताले फाइदा लिने अवस्था निर्माणका लागि क्रियाशील हुनुपर्ने समेत बताउनुभयो ।

सामुदायिक वन समन्वय समिति , तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउमा आफ्नो संस्थाले वन, वातावरण र जैविक विविधता संरक्षणमा निरन्तर गतिशील रहेको बताउनुभयो । उहाँले सरोकारवालाहरु संगको समन्वयमा आफ्ना अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा वन उपभोक्ता समूहका रोमबहादुर लम्तरी, सावित्रा पाण्डे, यमबहादुर थापा, लक्ष्मी श्रेष्ठलगायतले वन, वातावरण विषयमा आफ्ना विचार राख्र्दै सम्भावना अनुसार वनबाट सहज रुपमा उपभोक्ताले सहयोग प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सरक्षण मात्र नभई उपभोगको पनि सहज वातावरणका विषयमा वन उपभोक्ता महासंघले सहजीकरण गर्नुपर्ने समेत बताउनुभयो ।

स्थापना दिवसका अवसरमा विपन्न परिवारका विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामान वितरण गरिएको गरिएको सामुदायिक वन महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर