
तिनाउ गाउँपालिकाभित्र रहेका माध्यमिक एवम् आधारभूत विद्यालयमा रहेका ईको क्लवका नायक एवम् पदाधिकारीहरुका लागि जलवायु परिवर्तन, ईको क्लव, बैठक सञ्चालन, माईन्यूट लेखन सम्बन्धी तालिम दोभानमा सम्पन्न भएको छ ।
तालिममा वन अधिकृत रोहित भुसाल, संरक्षण अभियन्ता दलबहादुर गुरुङ र सामाजिक एवम् शैक्षिक व्यक्तित्व युवराज घिमिरेले सहजीकरण गर्नुभएको थियो । तालिममा तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले विद्यालयमा गठित ईको क्लवले वन, वातावरण र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा समेत यस्ता विषयहरुमा पुनर्ताजगी तालिम सञ्चालन गर्न सामुदायिक वन समन्वय समितिलाई अनुरोध गर्नुभयो ।
सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, शेरबहादुर थापा र हरिकला कुमाल लगायतले तालिममा आफ्नो विचार राखेका थिए । सहभागी विद्यालयलाई माईन्यूट लेख्नका लागि आवश्यक सामग्री समेत प्रदान गरिएको थियो । तालिममा १२ वटा विद्यालयका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । तिनाउ गाउँपालिका ,पाल्पा र बुटवल उपमहानगरपालिका, बुटवलले आर्थिक एवम् प्राविधिक सहयोग भएको तालिमको आयोजना सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाले गरेको सामुदायिक वन समन्वय समिति, तिनाउका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले जानकारी दिनुभयो ।
यस्तैगरी मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तिनाउको वडा नं. १ कचलको आरुखुदीमा सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । तालिममा अभियन्ता दलबहादुर गुरुङले सहकारीको अर्थ, परिभाषा, सिद्धान्त, नियमका बारेमा सहजीकरण गर्नुभएको थियो । ग्रामीण क्षेत्रमा सहकारीले आर्थिक उन्नति र प्रगतिका लागि विशेष काम गरेको भन्दै उहाँले तिनाउमा उत्कृष्टता हासिल गरेको मिलीजुली सहकारीले सहकारी सदस्यहरुका हितमा काम गर्दै आएको समेत बताउनुभयो ।
सहकारीले दिदै आएको सेवा र समाजमा पारेको आर्थिक एवम् सामाजिक प्रभावका बारेमा सहकारीका अध्यक्ष रवीन्द्र पौडेलले जानकारी गराउनुभएको थियो । आरुखुदी–हात्तीमारा टोल विकास संस्थाका ६० बढी सदस्यहरुको उपस्थितिमा सञ्चालित तालिममा सहभागीहरुले आफ्नो गाउँको आर्थिक विकासमा मिलीजुली सहकारी ठूलो सहयोग गरेको बताएका थिए ।