मस्यामा माविमा आवासिय छात्रावास कार्यक्रम सुरु

पाल्पा । तिनाउ गाउँपालिका पाल्पाले ६ नं. वडामा रहेको मस्याम माध्यमिक विद्यालयमा आवासिय क्षात्रावास कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले विद्यालय समायोजन कार्यविधि २०८० बमोजिम विद्यालयको तह कटौतीबाट प्रभावित विद्यार्थीहरुका लागि सहज रुपमा शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रावास कार्यक्रम सुरु गरिएको जनाएको छ ।

मंगलबार विद्यालयको छात्रावास भवन र आवासिय छात्रावास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले गर्नुभयो । उहाँले देशको विकासका लागि कृषि र शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री खत्रीले अझैपनि जनप्रतिनिधिहरु कृषि, स्वास्थ्य, शिक्षाको क्षेत्रमा लगानी गर्नुको सट्टा विकासका नाममा डोजर लिएर टोल बस्तिमा पुग्ने होडबाजीका कारण विकास भन्दा बढी बिनास निम्तिएको बताउनुभयो ।

मन्त्री खत्रीले प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रको सुधारका लागि एक विद्यालय, एक स्वास्थ्यकर्मी र विद्यालय थोरै, विद्यार्थी धेरै नाराका साथ शिक्षा क्षेत्रका कार्यक्रम अगाडि सार्ने तयारीमा रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका गाउँपालिकाले अभियान थालेको बताउनुभयो । उहाँले कम विद्यार्थी संख्या रहेका आधारभूत तहका विद्यालयहरुलाई घटाएर नजिकको विद्यालयमा आबासिय सुबिधा सहित निशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय अनुसार मस्याममा पहिलो आवासीय छात्राबास सुरु गरिएको जानकारी गराउनुभयो । उहाँले क्रमिक रुपमा समय अनुसार शिक्षाको गुणस्तर वृद्धि गर्ने र सबै बालबालिकाको विद्यालयमा सहज पहुँच सुनिश्चित गराउन सबैको सुझाव र सल्लाह अनुसार गाउँपालिकाले प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस वर्ष गाउँपालिकाले विद्यार्थी संख्या कम भएका ६ नं. वडाको पाटन आधारभूत विद्यालय, पाटन र श्री आधारभूत विद्यालय, अर्खलेको कक्षा कटौती गरेर थियो । सोही विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरेर आवासिय छात्रावास कार्यक्रम सञ्चालन गरिएको हो । छात्रावास कार्यक्रम लागु भएपछि कक्षा ८ पछि विद्यालय छाडने विद्यार्थीको दर घट्ने र सहज रुपमा कक्षा १२ सम्म अध्ययन गर्न वातावरण निर्माण हुने विश्वास गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।

आवासिय छात्रावास कार्यक्रमले अभिभावकहरुलाई छोराछोरीलाई शिक्षा प्रदान गर्ने चिन्ताबाट मुक्त राख्नुका साथै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताउनुभयो । उहाँले गाउँपालिकाको आवासिय क्षात्रावास सञ्चालन सम्बन्धी कार्यविधि २०८१ अनुसार गाउँपालिकामा पहिलो पटक कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

छात्रावासका लागि अहिले दुई जना वार्डेन, एक जना भान्से र एक जना सरसफाईकर्मीको व्यवस्था गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको शैक्षिक सुधार कार्यक्रम अन्तरगतको करिब १५ लाख रुपैयाँको सहयोगमा आवासिय छात्रावास कार्यक्रम सुरु गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले जानकारी दिनुभयो । उहाँले छात्रावासमा बस्ने सबै विद्यार्थीका लागि आवश्यक सबै संरचना व्यवस्था गरिएको बताउनुभयो । निशुल्क रुपमा सेवा उपलब्ध हुने छात्रावासमा बस्ने विद्यार्थीको संख्या ३२ जना रहेका छन् ।

आवासिय रुपमा रहेर अध्ययन गर्ने विद्यार्थीको शैक्षिक उपलब्धि बढी हुनुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृिद्धमा सहयोग पुग्ने मस्याम माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले बताउनुभयो । उहाँले आवासिय छात्रावास कार्यक्रमले विद्यालय तहको शिक्षामा समन्यायिक पहुँच र समता कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस विद्यालयमा अहिले बालविकास कक्षादेखि १२ सम्म २ सय ५९ जना विद्यार्थी अध्ययनरत रहेको प्रद्यानाध्यापक पाण्डेले बताउनुभयो ।

वि.स २०१४ साल वैशाख ५ गते स्थापना भएर २०१५ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नामवाट औपचारिक रुपमा स्थापना यस विद्यालयले २०३१/३२ सालमा प्रस्तावित निमानि भएर कक्षा १–५ सञ्चालन गरेकोमा शैक्षिक सत्र २०३३/३४ मा कक्षा ६, २०३४/३५ मा कक्षा ७ को स्थायी स्वीकृती प्राप्त गरेको थियो । २०३८/३९ सालमा कक्षा ८ को पठनपाठन सुरु गरेको विद्यालयले २०४१ सालमा कक्षा ९ र १० र शैक्षिक सत्र २०६० सालमा साविक उच्च माध्यमिक विद्यालय तह कक्षा ११ र १२ को सम्बन्धन गरी कक्षा सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर