निस्दीको सार्वजनिक सुनुवाइ

पाल्पा । निस्दी गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा अर्धवार्षिक समीक्षा गरेको छ । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका विभिन्न वडाबाट नागरिक प्रतिवेदन, बर्हिगमन अभिमतलगायतका साथै अडियोसमेत प्रस्तुत गरिएको थियो ।

सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक खर्च, कार्यक्रम, बजेट तथा चालु आर्थिक वर्षमा सम्पादन भएका योजना तथा कार्यक्रमका साथै सेवाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा ६९ करोड बजेटमा ३४ करोड खर्च भएको जानकारी गराउँदै आर्थिक वर्षमा वित्तीय प्रगति विवरण अन्तर्गत चालुतर्फ ६२ प्रतिशत र पूँजीगत तर्फ ४१ दशमलव २५ प्रतिशत खर्च भएको जानकारी गराउनुभयो । कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बालमैत्री लगायत विविध विषयमा भएको प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराउनुभएको थियो । यस आर्थिक वर्षमा गाउँपालिकाले २८ लाख ३१ हजार राजश्व संकलन गरेको छ भने वडा नम्बर ४ मित्यालले सबैभन्दा धेरै ७ लाख ५४ हजार र सबै भन्दा थोरै २ नम्बर वडा सहलकोटले ६३ हजार राजश्व संकलन गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीको विकासमा चासो दिएर सुधारका लागि सुझाव जिज्ञासा व्यक्त गर्दा भोलिका दिनमा काम गर्नमा थप मार्गनिर्देशन मिल्ने बताउनुभयो । गाउँपालिकाले जनताले प्रत्यक्ष महसुस गर्नेगरी विकासका काम गरेको बताउँदै अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसायमूलक र उत्पादनमूखी काम गर्ने योजना रहेको जानकारी गराउनुभयो । उहाँले सहभागीले उठाएको जिज्ञासा र विभिन्न कोणबाट आएका सुझावलाई मनन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले सार्वजनिक सुनुलाइले नै काम गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले जनतालाई खबरदारी गर्ने साथै सुशासन ऐनको कार्यान्वयन गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि गरिएको सार्वजनिक सुनुवाइले आगामी दिनमा काम गर्न थप उत्साह उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरु दमन बहादुर सिंजालीले विद्युत्ीकरण भए पनि काम गर्ने कर्मचारीका कारण बिग्रेको विद्युत् समयमा नबन्ने समस्या रहेको गुनासो गर्नुभयो । सहभागी तिलबहादुर आलेले सम्झौता गरेर काम गरे पनि भुक्तानी नपाएको गुनासो राख्नुभएको थियो । नागरिक प्रतिवेदन, बर्हिगमन अभिमत लगायत अडियो विधिबाट लिइएको प्रतिक्रियामा भने गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, भौतिक पूर्वाधार, बिजुली, पर्यटन, कृषि, विपत् व्यवस्थापनलगायतका विषयमा गम्भीर भएर ठोस योजना ल्याउन पर्ने साथै यस क्षेत्रमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा नेकपा एमाले निस्दी गाउँपालिका अध्यक्ष रामबहादुर पाटा मगरले पछिल्लो समयमा बिजुली, सडक, खानेपानीका क्षेत्रमा निस्दीले विकास गरेको बताउँदै निस्दीको विकासमा राजनीतिक दल बाधक नबन्ने र सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ वडाध्यक्ष दुर्गा सोमै, विषयगत शाखाका संयोजकहरु संजय खनालले काम गर्दा हुनसक्ने कमजोरीका विषयमा तत्काल प्रश्न गरेर सुधारका लागि सहयोगी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख सरोज काफ्ले, स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगर, शिक्षा शाखा प्रमुख नरबहादुर थापा, कृषि शाखा प्रमुख सागर न्यौपाने, पशु विकास शाखा प्रमुख ओम मश्राङ्गीमगर, सहकारी तथा राजश्व शाखा प्रमुख विमला आचार्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बन्दना गुप्ता, बालकल्याण अधिकारी कुस्माखर पाण्डेय लगायतले नागरिक प्रतिवेदनका साथै बर्हिगमन अभिमतबाट आएका तथा अडियोबाट लिइएका सुझावलाई कार्यान्वयन गर्न सधै तयार रहेको बताएका थिए । सुनुवाइको सहजीकरण पत्रकार माधवप्रसाद अर्याल र पुनाराम सुनारीले गर्नुभएको हो ।

सम्बन्धित खवर