भू–उपयोग क्षेत्र वर्गीकरणमा पूर्वखोला पहिलो

पाल्पा । पूर्वखोला गाउँपालिका भू–उपयोग क्षेत्र वर्गीकरणमा पहिलो बनेको छ । जिल्लाका दश स्थानीय तहमध्ये पूर्वखोलाले हरेक कित्ताको वर्गीकरण विवरण समेत निकालेर भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने पहिलो गाउँपालिका बनेको हो । जिल्लामा अन्य गाउँपालिकाले प्रारम्भिक मापदण्ड स्वीकृत गरेर काम चलाउका रूपमा जग्गाको कित्ताकाट गर्न मिल्ने अवस्थामा रहेका छन् भने बगनासकाली गाउँपालिकाले प्रारम्भिक मापदण्ड समेत स्वीकृत गरेको छैन ।

पूर्वखोला गाउँपालिकाले भने जग्गाधनीको सबै कित्ताको लगत तयार गरेर कित्ताकाट गर्न मिल्ने अवस्था बनाएको छ । गाउँपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरण कार्य सम्पन्न गरेर खरिद विक्रीका लागि बन्द अवस्थामा रहेको जग्गाको कित्ताकाटको काम सुरु गराएको हो । भू–उपयोग ऐन २०७६ को दफा ४ र भू–उपयोग नियमावली २०७९ को दफा ५ (१) बमोजिम नियम ४ र ५ अनुसार भूमिको मौजुदा अवस्था, उपयुक्तता र स्थानीयको आवश्यकताका आधारमा १० वटा क्षेत्रमा वर्गीकरण कार्य सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका ६ वटै वडामा गाउँपालिकाले तयार गरेको भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड २०८०/०८१ बमोजिम कित्तागत विवरण निकाली भू–वर्गीकरण कार्य सम्पन्न गरी जग्गा वर्गीकरण कार्य सम्पन्न गरी कित्ताकाट खुलाइएको अध्यक्ष थापाको भनाइ छ । अब वर्गीकरणको गरिएको जग्गाको विवरण लालपुर्जामै देखिने गरी उल्लेख हुनेछ । एउटा प्रयोजनमा वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उहाँले अब कृषि प्रयोजनका लागि उल्लेख गरिएको जग्गा आवासीय तथा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने बताउनुभयो ।

जसका लागि १ नं. वडा सिलुवाको कित्ताकाटको कार्य क्षेत्र रामपुर नगरपालिकामा रहेको नापी तथा मालपोत कार्यालयबाट र अन्य २ नं.वडा जल्पा, ३ नं. वडा रिङ्नेरह, ४ नं. वडा देवीनगर, ५ नं. वडा विरकोट र ६ नं. वडा हेक्ला·को कित्ताकाटको कार्य क्षेत्र तानसेनमा रहेको नापी तथा मालपोत कार्यालयबाट हुने सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो । जग्गाको वर्गीकरण क्षेत्र अनुसार पूर्वखोलामा कृषि क्षेत्र ५२१६.४६ हेक्टर, आवासीय क्षेत्र ६२५.७३, व्यावसायिक क्षेत्र २५.३६, औद्योगिक क्षेत्र ४.५, वन क्षेत्र ७३८५.०२, सार्वजनिक उपयोग क्षेत्र २६२.०४, खानी तथा खनिज क्षेत्र १३९.३३, संस्कृतिक तथा पुरातात्विक क्षेत्र ८.२८, नदि ताल तथा सिमसार क्षेत्र १३९.९ रहेको सूचना अधिकारी ढकालले बताउनुभयो । उहाँका अनुसार जग्गा वर्गीकरण भएपछि व्यवस्थित बस्ती विकासका लागि सहज हुनुका साथै अव्यवस्थित आवासका लागि पूर्वाधार निर्माणको काम रोकिने विश्वास व्यक्त गर्नुभयो ।

भू–उपयोग योजना र भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्डका आधारहरुलाई आत्मसाथ गरेर गाउँपालिका भित्र रहेको कुल १ सय ३८ दशमलव शून्य २ वर्ग. किलोमिटर जग्गालाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले आवासीय क्षेत्र, कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला ताल सीमसार क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रलगायतका दश वटा क्षेत्रको एकिन गरी कित्तागत विवरण निकाली कित्ताकाटका लागि जेष्ठ १ गते नापी र मलपोत कार्यालयलाई बुझाइएको बताउनुभयो ।

सम्बन्धित खवर