
पाल्पा । पाल्पा जेसीजले स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । विद्यार्थीहरुमा स्वास्थ्य सचेतना जगाउन कार्यक्रम गरिएको हो । तानसेन ५ बन्दीपोखरामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका लागि नसर्ने रोग सम्बन्धी विषयमा सचेतना कार्यक्रम गरिएको जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।
गएको सोमबार पाल्पा जेसीजको आयोजना र तानसेन नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा सचेतना कार्यक्रममा मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वास सम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरूका विषयमा तानसेन नगरपालिका कार्यालय स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने र चन्द्रतारा बस्यालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कार्कीले स्वासथ्य सचेतनाजस्तो महत्वपूर्ण कार्यक्रम विद्यालयमा सञ्चालन गरेकोमा पाल्पा जेसीजलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सचेत बन्दा घरपरिवार सचेत बन्ने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नका लागि विद्यालयले सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सिग्देलले स्वास्थ्य सचेतनाका लागि विद्यालयलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहााले आगमी दिनमा पनि विद्यार्थी सचेतना तथा सहयोग कार्यक्रम ल्याउनका लागि आग्रह समेत गर्नुभयो ।
सचेतना कार्यक्रममा औषधि व्यवसायी समितिका सचिव सचिन विष्ट , पाल्पा जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहाकार पूर्णराज शाक्य, उपाध्यक्ष गणेश पन्थीलगायतको उपस्थिति रहेको वर्ष २४ का पाल्पा जेसीजका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।