बेथिति अन्त्यका लागि सघाउन वाइसिएल पाल्पाको आग्रह

पाल्पा । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल, पाल्पाले जिल्लामा व्याप्त बेथिति अन्त्यका लागि सघाउन आग्रह गरेको छ ।

समाजमा रहेका विकृती, विसङ्गती, अराजकता विरुद्ध संघर्ष गर्दै सुशासन र जनहितका पक्षमा क्रियाशील नेकपा माओवादी केन्द्रको युवा संगठन रहेको वाइसिएलले पत्रकार सम्मेलन गरी बेथितिका विरुद्धमा सञ्चालित अभियानमा सहयोग गर्न आग्रह गरेको हो ।

पछिल्लो समय पाल्पामा सञ्चालित चुनढुङ्गा खानी उद्योगहरुको कारण जनजीवन माथी परेको असर, वातावरणीय प्रदुषण, ओभर लोड, राजश्व चुहावट, टिप्पर आतंकलगायतका विषयमा सम्बन्धित पक्षलाई समस्या समाधान तथा नियमनका लागि ध्यानाकर्षण गराउँर्दै आएको छ ।

वातावरण तथा जनतालाई प्रत्यक्ष असर गरिरहेको विषयमा विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय, चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन, रैनादवी छहरा गाउँपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालाई ध्यानाकर्षण पत्र बुझाइएको संयोजक कमल श्रेष्ठले बताउनुभयो । तर आफ्नो मागप्रति कुनै चासो र सुनुवाइ नभएकोले सबैको सरोकारको विषय भएकोले सघाउन उहाँले आग्रह गर्नुभएको हो ।

जिल्लामा दर्जन बढि चुनढुङ्गा खानी सञ्चालनमा छन् भने केही सञ्चालनको प्रक्रियामा रहेका छन् । सञ्चालनमा रहेका खानी उद्योगहरुले नेपाल सरकार साथै स्थानीय जनतासँग गरेका सम्झौताहरु लागु नगरेको संयोजक श्रेष्ठको भनाइ छ । उहाँका अनुसार कतिपयले आफ्नो हकभोग भन्दा बाहिर उत्खनन् गरेका छन् । वृक्षारोपणको काम गरेका छैनन् । खानी विभागले विभिन्न समयमा अनुगमन गरी दिएको सुझाव समेत कार्यान्वयन गरेको देखिदैन । खानीहरुको निरीक्षण, अनुगमन र नियमनका सवालमा स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालयले आफैले प्रभावकारी रुपमा काम गर्नु पर्नेमा नगरेको र आफूहरुलाई पनि सहयोग नगरेको संयोजक श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले यस विषयमा राजनीतिक दलका नेताहरुको पनि संलग्नता देखिएकोले भण्डाफोर अभियानमा नेताका नाम सार्वजनिक गर्ने समेत बताउनुभयो ।

जिल्लामा रहेका राजनीतिक दलहरुको समेत सहभागितामा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बेथिति, विकृति हटाउन भएको क्रियाशीलता परिणाममूखी हुनुपर्ने बताउनुभयो । उहाँले चुनढुङ्गा खानीले पारेको असर न्यूनीकरणका विषयमा पटक पटक कुरा उठेपनि समाधान नभएको बताउँदै राजनीतिक दल र सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका पाल्पा जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेले गलत कामलाई सुर्धान सबै जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले सञ्चालनमा रहेका खानीबाट जिल्लाले प्राप्त गर्नुपर्ने रकम समेत नपाएको बताउदै यसको असर सहेर बस्न नहुँने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरेले खानी उद्योगका विषयमा नीतिगत समस्या रहेको बताउनुभयो । उहाँले पछिल्लो समय डिभिजन वन कार्यालयले मापदण्ड विपरित उत्खनन् भएका खानीलाई कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी गराउँदै नियमनकारी निकायको कमजोरीका कारण समस्या थपिएको बताउनुभयो ।

नेकपा समाजवादीका उपाध्यक्ष मोहनलाल गैरेले सुशासनयुक्त जिल्ला निर्माणका लागि साझा आवज हुनुपर्ने बताउनुभयो । उहाँले खानी, सडकमा मात्र नभएर अनेकौ समस्याहरु रहेकोले सबै एक ठाउँमा उभिएर अवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पालाई राम्रो बनाउने बेतिथिलाई अन्त्य गर्ने अभियान सकारात्मक भएको बताउनुभयो । उहाँले देखाउने र गर्ने काम फरक नगरेर अभियानलाई निरन्तरता दिँदा नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । याे समाचार करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर