पाल्पाका नौँ हजार बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइने

पाल्पा । पाल्पामा नैँ हजार ४ सय ६७ बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार जिल्ला खोप समन्वय समिति, पाल्पाका पत्रकार तथा संचारकर्मी अभिमुखीकरण कार्यक्रम गरेर खोप अभियान बारे जानकारी गराइएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले आईपीभी खोप खोप अभियान प्रभावकारी बनाउनका लागि पत्रकारहरुले प्रचार प्रसारमा सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो । उहाँले खोप अभिउान बारे जानकारी गराउदै वि.स. २०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका खोप अभावका कारण छुटेका बालबालिकालाई मात्र र्आपीभी खोप लगाइने जानकारी दिनुभयो । प्रमुख गरीका अनुसार त्यो समय अवधिका छुट भएका बालबालिको संख्या पाल्पामा नौँ हजार ४ सय ६७ रहेको र ती बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइने बताउनुभयो ।

खोप लगाउनुपर्ने समयमा छुटेका बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने उद्देश्यले अहिले अभियान सञ्चालनको तयारी भएको हो । जसमा पाल्पा जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । अभियान यही जेष्ठ १३ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुने प्रमुख गिरीको भनाइ छ । यस पटक बालबालिकाले विद्यालयमै खोप लगाउन पाउने छन् । खोप केन्द्र नै विद्यालयमा बनाएर खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनभुयो ।

अभियान पहिलो चरणमा जेठ १३ गतेदेखि २० गतेसम्म जिल्लाका ६ स्थानीय तहहरु तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकामा खोप लगाइनेछ । यस्तै दोस्रो चरणमा जेठ २१ गतेदेखि २७ गतेसम्म रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । विद्यालयमा सञ्चालन भएको खोप केन्द्रबाट सेवा लिन छुटेका बालबालिकाहरुका लागि स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पोलियो बिरुद्धको खोप लगाउनका लागि विभिन्न विद्यालयमा ४ सय ४८ खोप केन्द्र र ८१ वटा स्वास्थ्य संस्थामा केन्द्र तोकिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन ५ सय २७ जना स्वास्थ्यकर्मी र ५ सय २९ जना स्वयम्सेवक परिचालन गरिने उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाली, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले खोप अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित खवर