कर्मचारी संगठनको एक दिने प्रशिक्षण सम्पन्न

पाल्पा । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति पाल्पाले एक दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षणको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले निजामती कर्मचारी सेवा ऐन नबन्दा कर्मचारी समायोजनमा समस्या भएको बताउनुभएको छ । उहाँले लामो समयको प्रयासपछि संसदमा दर्ता भएको सेवा ऐनमा छलफल नहुँदा कार्य व्यवस्थापनमा समस्या रहेका बताउनुभयो । अहिले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीमा तालमेल नहुँदा प्रभावकारी सेवा प्रवाहमा कठिनाइ रहेको केन्द्रीय अध्यक्ष कोइरालाले बताउनुभयो । संगठनको विगत एक दशकदेखि प्रशिक्षण कार्यक्रम बन्द अवस्थामा रहेकोले संगठनलाई क्रियाशील बनाउन सबै जिल्लामा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो ।

यस्तैगरी लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासीनीले पुराना सदस्यहरु निवृत्त हुने र निजामती सेवामा प्रवेश भएर संगठनको सदस्यता लिएकाहरुका लागि निजामती सेवा ऐन, सेवा प्रवाह, नेतृत्व विकास सम्बन्धी क्षमता विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिउको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरु आगामी दिनमा कार्य क्षेत्रमा आमसेवाग्राहीले अनुभूती गर्नेगरी लागु गरेर संगठनको हितमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

संगठनका पूर्व केन्द्रीय अध्यक्ष गणेशप्रसाद बस्यालले आमनागरिकका निम्ती सेवा प्रवाह गर्ने कर्मचारीहरु दक्ष हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुको वृद्धि विकासका लागि लामो समयदेखि काम गर्दै आएको कर्मचारी संगठनमा आबद्ध सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिएर तालिम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । संगठनका केन्द्रीय सदस्य लक्ष्मी खनालले जहाँ सरकार त्यहाँ ट्रेड युनियन अधिकार सुनिश्चित गर्न संगठन सक्रिय हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा संगठनका पूर्व केन्द्रीय सदस्य सुन्दरप्रसाद श्रेष्ठले संगठनको एतिहासिक विरासतलाई कायम राख्न सबै सदस्यहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले सक्रियताले मात्र अस्थित्व निर्माण गर्ने भएकोले संगठनलाई चलायमान गराउन आवश्यक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षणमा निजामती सेवा ऐन र व्यवस्था विषयमा केन्द्रीय अध्यक्ष कोइराला, सकारात्मक सोच सम्बन्धी विषयमा डा. राम बहादुर राउत, संगठन सुदृढिकरण विषयमा रामचन्द्र अधिकारी र नेतृत्व निर्माण सम्बन्धी विषयमा कवि सिं कठायतले सहजीकरण गर्नुभएको संगठनका जिल्ला अध्यक्ष युवराज ज्ञवालीको जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमकै अवसरमा कार्यसमितिमा रही सेवानिवृत भएका कर्मचारीहरु उमादेवी आचार्य, राजेन्द्र प्रसाद आचार्य, नारायण प्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । प्रशिक्षण कार्यक्रममा १ सय ५० जना बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर