पत्रकार महासंघ पाल्पाकाे ११ औं अधिवेशन सम्पन्न

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं अधिवेशन साेमबार सम्पन्न भएको छ । अधिबेशनले नयाँ नेतृत्वका लागि निर्वाचन बाहेका सबै कामहरु सकेको महासंघले जनाएको छ ।

अधिबेशनमा महासंघ पाल्पाका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन र सचिव यज्ञमुर्ति तिमिल्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन छलफल सहित सर्वसम्मत रुपमा पारित भएको छ । यसका साथै नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मानित शाखाका पूर्व अध्यक्ष गोविन्द भट्राईलाई सम्मान पत्र समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ पाल्पाका संस्थापक तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले स्थापनाकालदेखि हालसम्म सबैको योगदानले महासंघ यो अवस्थामा आएको बताउनुभयो । उहाँले महासंघको गौरमय इतिहासको निरन्तरताका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । सूचनाको हक जनतामा स्थापित गराउन मिडिया निरन्तर लागेको बताउदै पत्रकारिता व्यवसाय मात्र नभै समाज रुपान्तरणको अभियान समेत रहेको संस्थापक अध्यक्ष शर्माले बताउनुभयो । उहाँले पछिल्लो समय पत्रकारिताप्रति जनताको विश्वास कमजोर हुँर्दै गएको बताउँदै विश्वास जित्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले जनताका पक्षमा वकालत गर्ने दायित्व पत्रकारहरुको भएको बताउनुभयो । उहाँले पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी महासंघले गर्ने बताउँदै साना लगानीका मिडियालाई बचाउनका लागि आवश्यक समन्वय र सहकार्यमा नेतृत्वले काम गर्दा प्रभावकारी बन्ने समेत बताउनुभयो ।
पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र गहिरेले मिडिया बचाउनुपर्छ भन्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाउनुभयो । उहाँले स्थानीय तह, सरकारी निकायहरुले मिडियालाई सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । वार्षिक रुपमा मिडियाका नाममा ठूलो रकम खर्च हुँनेगरेको भएपनि जिल्लाका मिडियाले प्राप्त गर्ने अवस्था नरहेको जानकारी गराउँदै सहयोगको सुनिश्चिताका लागि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वतमान अध्यक्ष राजेशकुमार अर्यालले समय अनुसार पाल्पाली पत्रकारिता अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले समाजका सवाल उठाउने भन्दा मिडिया बचाउने अभियानमा लाग्दा पत्रकारिता कमजोर बन्न पुगेको बताउनुभयो । समय अनुसार प्रविधि र शैली परिर्वतन गरेर व्यक्तिगत हित भन्दा माथि उठेर संस्थागत हितमा लाग्दा अधिकांश समस्या समाधान हुने निर्वतमान अध्यक्ष अर्यालको भनाइ छ ।

महासंघका सल्लाहकार कमलराज तिमिल्सेनाले महासंघ बलियो हुँदा पत्रकारहरु बलियो हुने बताउनुभयो । उहाँले सबैको सहकार्य र एकताबाटै पाल्पाली पत्रकारिता र महासंघलाई सशक्त बनाउन सकिने भएकोले एकजुट भएर अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्याल,महासंघका केन्द्रीय परिषद् सदस्य गीता ज्ञवाली, प्रदेश परिषद् सदस्य मिलन विक, प्रेस चौतारी नेपालका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियन पाल्पाका सभापति मन गहिरे, समाजवादी प्रेस संगठनकाका अध्यक्ष पदम गैरेले, जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईलगायतले महासंघको गरिमा उच्चो हुँनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । पत्रकारिता पेशा संकटमा रहेको अवस्थामा यसलाई मर्यादित र व्यवस्थित बनाउन सबै जिम्मेवार बन्नुपर्ने उहाँहरुको भनाइ थियो । महासंघ बलियो भए पत्रकारहरु हेपिन र चेपिन नपर्ने, पत्रकारहरु बलियो हुने अबस्था हुने भएकोले सम्मानीत रुपमा पत्रकार भएर काम गर्न सक्ने वातावरण बनाउनु पर्ने वक्ताहरुको भनाइ थियो ।
अधिवेशन महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत तथा सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा चलेको थियो । महासंघको नयाँ नतृत्वको लागि आगामी जेठ २६ गते जिल्ला, प्रदेश र संघमा एकै दिन निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित खवर