गाउँले देउरालीको ३१ वार्षिकोत्सव

पाल्पा । गाउँले देउराली साप्ताहिक समाचार पत्रले आफ्नो ३१ औं वार्षिकोत्सव मनाएको छ । सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी पत्रिकाले वार्षिकोत्सव मनाएको हो । यस अवसरमा पत्रिकामा लामो समयदेखि लेख उपलब्ध गराउने लेखक नारायण अधिकारी र हरि भुसाललाई सम्मान समेत गरिएको थियो ।

समारोहमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँले देउराली पत्रिका मोफसलको अब्वल पत्रिकाका रुपमा रहेको बताउनुभयो । उहाँले आफ्नो सामाजिक राजनीतिक अभियानमा पत्रिकाले हौसला थपेको स्मरण गर्दै यसको निरन्तरताका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय छापा माध्यमहरु समस्यामा रहेको प्रमुख खनालले बताउँदै पत्रकारिता बस्तुनिष्ठ र खोजमूलक हुनुपर्नेमा जोड दिनुभयो । सुरुका दिनमा जस्तै पत्रिकाले कृषि, विकास, स्वरोजगार र सम्भावना र सफलतालाई खोजेर विषयबस्तु प्रस्तुत गर्दा पत्रिका पठनिय हुने र निरन्तरता दिन सहज हुने प्रमुख खनालको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रिका निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले पत्रिकारितामा विभिन्न खाले चुनौती रहेकोले समय अनुसार प्रविधिको विकाससंगै मिडियालाई पनि परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो । गाउँले देउराली पत्रिकाको आफ्नै विशेषता भएकोले प्रविधिमैत्री भएर अगाडि बढ्नुपर्ने अध्यक्ष रानाले बताउनुभयो ।

पत्रिकाका अतिथि सम्पादक तथा वरिष्ठ पत्रिका मेघराज शर्माले पाल्पाको जेठो पत्रिकाका रपमा रहेको गाउँले देउराली पत्रकिा दक्षिण एसियाकै पहिलो विकास पत्रिका भएको बताउनुभयो । उहाँले मिडिया वलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै मिडियाको विकासका लागि समानुपातिक विज्ञापन नीतिको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुँनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र गहिर, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान् भण्डारी, जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक भन्डारी, पत्रकार देव पचभैयालगायतले २०५० साल मंसिर ७ देखि प्रकाशनमा आएको गाउँले देउराली पत्रिकाको महत्व धेरै रहेको बताउनुभयो । उहाँहरुले पत्रिका अहिले अन्य पत्रिकाकै रुपमा प्रकाशन भएकोले यसलाई पुरानैशैलीबाट प्रकाशन गर्दा राम्रो हुने सुझाव राख्नुभयो । गाउँले देउराली पत्रिकाले विकास पत्रकारिता सिकाएको, पत्रकारहरु वृद्धिका लागि महत्वपूर्ण योगदान गरेकोले यसको निरन्तरताका लागि खुल्ला रुपमा योजना बनाएर काम गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

ग्रामीण विकास पाल्पाद्धारा प्रकाशन हुँदै आएको पत्रिकाको सम्पादक रामप्रसाद अर्याल र सहसम्पादक रामचन्द्र नेपाल रहनुभएको छ । पत्रिकाको निरन्तरताका लागि आवश्यक सुझाव लिन र लेखकहरुलाई प्रोत्सहान गर्न वार्षिकोत्सवमा छलफल तथा सम्मान कार्यक्रम गरिएको ग्रामीण विकास पाल्पाका अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । उहाँले प्राप्त सुझाव अनुसार पत्रिकालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर