पाल्पा । रामपुर नगरपालिका भित्रका स्थायी शिक्षकहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । शैक्षिक सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको हो ।
नेपाल सरकारका सचिव डा.हरिप्रसाद लम्सालले राजनीतिक भय र खिचातानीका कारण विद्यालय शिक्षामा सुधार हुन नसकेको बताउनुभयो । उहाँले विद्यालयका शिक्षकमा शिक्षा भन्दा पनि राजनीतिक प्रभाव हावी भएका कारण शैक्षिक अवस्था खस्कदोँ अवस्थामा पुगेको उहाँको भनाइ थियो ।
सचिव लम्सालले हरेक शिक्षकले बदलिंदो समय संगै प्रविधिको प्रयोग र शिक्षण सिकाईको शैली फरक बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले नगरको शैक्षिक विकासका लागि हरेक विद्यालयको महत्व दिने खालका विषय सञ्चालन गर्नु पर्ने उल्लेख गर्दैै सहकार्य, समन्वय र सहअस्तित्व कायम गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको शैक्षिक उन्नयनका लागि प्रतिबद्ध भएर कक्षा शिक्षण गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले भौतिक विकासले मात्र नगरको विकासले पूर्णता नपाउने भन्दै मस्तिष्कको विकासका लागि विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सिमादेवी थापाले हरेक विद्यालयको शैक्षिक गुणस्तर स्तरीय बनाउनका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने भन्दै भोलीको रामपुर नगरपालिका कस्तो बनाउने हो सोही तवरले लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।