पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा गुराँस आत्रेयको निरन्तरता भएको छ । आफ्नै नेतृत्वमा नगर कमिटी हाक्नुभएका आत्रेयले फेरी पनि जिम्मेवारी प्राप्त गर्नुभएको हो । एमाले तानसेन नगर कमिटीको बुधबार सम्पन्न दोश्रो अधिवेशनले आत्रेयको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा थानीमाया सोमैमगर र मित्रलाल नेपाली रहनुभएको छ । यो नेतृत्वले पहिलो कार्यकालमा पनि रचनात्मक र सिर्जनशील काम गर्दै आएको थियो ।
अधिवेशनका अवसरमा वडा कमिटीमा रहेर पार्टीको काममा अहोरात्र खटने नगर भित्रका १४ वटा वडाका वडा कमिटी अध्यक्षहरुलाई सम्मान गरिएको थियो । अधिवेशनको बन्द सत्रमा आत्रेयले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नयाँ नेतृत्वलाई एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभाका सदस्य ठाकुर प्रसाद गैर, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिर, प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य ओम बहादुर घर्ती लगायतले बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको नीति र सिद्धान्त बारे आमानागरिकलाई बुझाउँदै जनतासंग नजिक रहेर योजनाबद्ध रुपमा गतिविधि चलाउनु पर्ने सुझाव राख्नुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणी शर्माको अध्यक्ष तथा एमाले पाल्पाका सचिव रामजी पोखरेलको सञ्चालनमा बन्द सत्र चलेको हो । जसमा नेतृत्वको अवसर प्राप्त गर्नुभएका आत्रेयले सबैसंगको समन्वय, सहयोग र सहकार्यमा एमालेलाई जनताको समस्या बुझ्ने पार्टीको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।