ठेकेदारले चलाएको मेलामा तानसेनको १९ लाख बढी खर्च

पाल्पा । प्रथम तानसेन महोत्सवमा १९ लाख ७६ हजार ३ सय ३८ रुपैयाँ ४० पैसा खर्च भएको तानसेन नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकारको आन्तरिक आम्दानी बढाउन ठेकेदारलाई ६१ लाख रुपैयाँमा ठेक्का दिएपनि सोही रकमबाट विभिन्न शीर्षकमा खर्च गरेको देखिएको छ । एउटै खर्च शीर्षकमा पनि एकरुपता नगरी खर्च गरेको सार्वजनिक विवरणमा उल्लेख छ । जसमा भूक्तानी नदिएका विलहरुको रकम समेत खर्चमा समाबेस गरिएको छ भने कतिपय विलहरु संकलन हुनै बाँकी रहेको पाइएको छ । यसले गर्दा खर्च रकम अझै थप हुँने निश्चित छ ।

सोमबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले महोत्सवका लागि राजधानी राइडस् नेपालबाट ठेक्कामा बोलकबोल गरेको रकम ६१ लाख, सोही फर्मको विटौरी कर ४७ हजार , घरेलु तथा साना उद्योग कार्यालय पाल्पाबाछ ८० हजार र पर्यटन विकास परिषद् बुटवलबाट ५० गरी जम्मा ६२ लाख ७७ हजार आम्दानी भएको बताउनुभयो । उहाँले ठेकेदार संग भएको सम्झौतामा उद्घाटन, समापन सत्र र सुरक्षालगायतका विषयमा नगरपालिकाले खर्च व्यहोर्ने सहमती अनुसार खर्च भएको जनाकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले महोत्सव आयोजना गर्नु राम्रो भएपनि उद्देश्य अनुसार सञ्चालन गर्न नसकेको बताए । उनीहरुले कृषि, रोजगार, पर्यटन, उद्योगको गफ लगाएपनि अन्तिममा व्यापारमा बढी केन्द्रीत हुँदा महोत्सवको उपलब्धि कमजोर भएको बताए । स्थानीय सरकारले आफ्ना पालिकावासीको हितमा महोत्सव गर्नुपर्नेमा जिल्ला बाहिरका व्यापारीहरुलाई मद्दत पुग्ने गरी अनुगमन नगरी उपभोक्ता ठगिने वातावरण निर्माण गरेको पत्रकार विजयकुमार बौडेलले बताउनुभयो । उहाँले ठेक्का मार्फत चलाइएको महोत्सवमा नगरपालिकाले बजेट खर्च गर्नु गलत भएको बताउनुभयो ।

पत्रकारहरुले मिडियाको खर्च शीर्षकमा भएको मनपरी मापदण्ड प्रति प्रश्न गरेको थिए । उनीहरुले एउटै प्रकृतीका मिडियालाई फरक फरक रकम भूक्तानी दिएको र जिल्ला भित्रका भन्दा बाहिरका मिडियालाई ठूलो रकम उपलब्ध गराएकोमा गुनासो समेत व्यक्त गरेका थिए ।

पत्रकारहरुको प्रश्न, जिज्ञाशा र सुझावका विषयमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आन्तरिक आम्दानी बढाएर मात्र नगरको विकासमा सहयोग पुग्ने बताउर्दै त्यसको लागि नै महोत्सव गरिएको बताउनुभयो । पहिलो पटक आयोजना भएको महोत्सव सिकाईका रुपमा रहेको र आगामी दिनमा कमिकमजोरी सुधार गर्दै जाने नगर प्रमुख श्रेष्ठको भनाइ थियो । उहाँले नगरपालिकालाई प्राप्त हुने बजेट घट्दै गएको समयमा आन्तरिक आम्दानी बढाउन सफल भएकोले काम गर्न सहज भएको समेत सुनाउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय