
पाल्पा । नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन जेठ ११ र १२ गते हुने भएको छ ।
शुक्रबार तानसेनमा बसेको एमाले जिल्ला कमिटीको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन तानसेन ५ कैलाशनगरमा रहेको श्रीनगर साँस्कृतिक डबलीमा उद्घाटन समारोह र बन्द सत्र तानसेन नगरपालिकाको सभाहलमा हुने जनाएको छ ।
अधिवेशनमा करिब ४ सय ६० प्रतिनिधि सहभागी हुनेछन् । पाल्पामा करिब ८ हजार एमालेका सदस्य रहेका छन् । ८१ वटै वडाबाट प्रतिनिधि छनोट प्रक्रियाका लागि निर्वाचन हुनेछ । २० सदस्य संख्या बराबर १ जना प्रतिनिधि छनोट हुनेछन् । तीन जना प्रतिनिधि छनोट हुँदा एक जना महिला अनिवार्य हुनुपर्ने छ । एक वडा एक युवा प्रतिनिधि छनोट हुनुपर्नेछ । पालिकालाई इकाइ मानेर १२ दलित समुदायका सदस्य संख्या बराबर १ दलित प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ । आगामी जेठ ५ गते प्रतिनिधि छनोटका लागि सबै वडामा निर्वाचन हुने अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।
अनुसूची १ मा पर्ने जनसंगठन २ र अनुसूची २ मा पर्ने जनसंगठनबाट १ जना प्रतिनिधि सहभागी हुन पाउने निर्णय भएको छ । पाल्पा–काठमाडौ सम्पर्क मञ्चबाट ५ र एमाले निकट भारत प्रवास समितिबाट ३ जना पर्यवेक्षकको रुपमा अधिवेशनको बन्दसत्रमा सहभागी गराइने एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।
अधिवेशन सम्पन्न गर्न अध्यक्ष धनेन्द्रराज घिमिरेको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला कमिटीका पदाधिकारी, सदस्य, गाउँकमिटीका पदाधिकारी, वडाध्यक्ष जनसंगठनका जिल्ला, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष सदस्य रहने छन् ।
बैठकले अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक विभिन्न उपसमितिहरु समेत गठन भएको उपसचिव दीपक विश्वकर्माले जानकारी दिनुभयो । उद्घाटनसत्रमा जिल्लास्थित सबै राजनीतिक दल, शुभचिन्तकलाई निमन्त्रणा गरिने अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । एमाले पाल्पाले सबै पालिका र वडा कमिटीको अधिवेशन आगामी जेठ ३ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको छ । सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने काम वैशाख मसान्तसम्म तोकेको छ ।