स्वास्थ्य संस्थामा बिरामी पठाउने बगनासकालीका लामाधामीको प्रतिबद्धता

पाल्पा । बगनासकाली गाउँपालिका भित्र रहेर लामो समयदेखि लामाधामी झाँक्रीको काम गर्दै आएका व्यक्तिहरुले आफूसंग उपचारका लागि आउने बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पठाउने प्रतिबद्धता गरेका छन् ।

मंगलबार गाउँपालिकाले प्रवक्तासंग पत्रकार कार्यक्रम अन्तरगत आयोजना गरेको लामाधामी झाँक्री, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारहरु बिच नागरिकको स्वास्थ्य प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । जसका लागि गाउँपालिकाले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

कार्यक्रमा सहभागी लामाधामीहरुले आफूले स्थानीयस्तरमा जनताको विश्वासका आधारमा सेवा दिँदै आएको बताएका थिए । उनीहरुले बिरामीको अवस्था हेरेर केहि समय उपचार गर्ने गरेपनि स्वास्थ्य संस्थामा जान आग्रह गर्ने गरेको पनि बताए । ३२ जना लामाधामीहरुको सहभागिता रहेको कार्यक्रममा १७ जनाले आफ्नो झारफुकको अनुभव सुनाएका थिए ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जिल्ला र पालिकाको समग्र स्वास्थ्य अवस्था, चुनौती, सुधारका विषयमा प्रस्तुति राख्नुभएको थियो । यस्तैगरी युनाइटेड मिसन अस्पतालका चन्द्रनारायण भस्म र लुम्बिनी मेडिकल कलेज प्रभासका चिकित्सक समता नेपालले हाम्रो समाजमा बिरामीको उपचारमा अपनाइने विधि, नागरिकको चेतनाको अवस्था र बिरामीको उपचारमा ध्यान दिनुपर्नेलगायतका विषयमा प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिका भित्र लामाधामीको काम गर्दै आउनुभएका व्यक्तित्वहरुलाई सचेत बनाउदै बिरामीहरुलाई जतिसक्दो छिटो स्वास्थ्य संस्थामा लैजाने वातावरण निर्माण गर्न कार्यक्रम सफल हुने विश्वस व्यक्त गर्नुभयो । उहाँले बुझेर वा नबुझि अझै पनि नागरिक पहिलो पटक लामाधामीकोमा उपचार गर्न पुग्ने अवस्था रहेकोले बिरामी स्वास्थ्य संस्था पुग्न बिलम्व गर्दा ज्यान गुम्न सक्ने भएकोले समयमै सहजीकरणमा सहयोग गर्न लामाधामीहरुसंग अन्तरक्रिया गरिएको बताउनुभयो । यसका साथै गाउँपालिकाले दीर्घ रोगीहरुलाई सहयोगका लागि प्रदेश र संघीय सरकारमा समेत अनुरोध गरिएको जानकारी गराउदै बिरामीको पहिलो भेट धामीझाँक्री सँगै हुने हुँदा झारफुकमा भरमा लामो समय खर्च नगरी स्वास्थ्य संस्थामा जानुपर्ने अध्यक्ष चिदीको भनाइ थियो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले लामाधामी–झाँक्री एउटा लोक संस्कृति, मौलिक सम्पदा, नेपालको अमूर्त सांस्कृतिक विधा भएको बताउनुभयो । उहाँले यस विधामा पछिल्लो समयमा देखिएको विकृति विसंगतीलाई हटाउन र नागरिकको स्वास्थ्य प्रवद्र्धनमा स्थानीय सरकार सहयोगी बन्न कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । गाउँघरमा स्वास्थ्य संस्था नहुँदा पनि ओखतीमुलो गर्दै आउनुभएका लामाधामी–झाँक्रीहरुलाई समय अनुसार परिर्वतन हुनुपर्ने बताउदै उपाध्यक्ष पाठकले तन्त्र मन्त्रमा मात्र भर नगरी बिरामीलाई स्वास्थ्य संस्थामा उपचारका लागि पठाउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले समाजमा देखिएका लामाधामी–झाँक्रीहरुको कारणले घटेका केहि घटनाहरुलाई ध्यानमा राखेर सचेतनाका लागि कार्यक्रम गरिएको जानकारी दिनुभयो । वर्षौदेखि गर्दै आएको लामाधामीको उपचार प्रति आमनागरिकको पनि विश्वास रहेकोले झारफुक संगै बिरामीको उपचारका लागि तत्काल स्वास्थ्य संस्था रोज्नुपर्छ भन्ने सन्देश स्वयम लामाधामी मार्फत गराउन कार्यक्रम सहयोगी बनेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले लामाधामीहरुलाई नेपालको कानुनी व्यवस्था बारे जानकारी गराउनुपर्ने बताएका थिए । पहिलो पटक नै बिरामी स्वास्थ्य संस्थामा जाने गराउनका लागि लामाधामी र चिकित्सकहरु बिच दोहोरो छलफल आयोजना गर्नुपर्ने सुझाव सहभागीले राखेको कार्यक्रमका सहजकर्ता पत्रकार दयाराज न्यौपानेले जानकारी दिनुभयो समाचार करूवा पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय