पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले चियापान, २०८१ सालको भित्तेपात्रो सार्वजनिकीकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाली पत्रकारितामा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पछिल्लो समय श्रमजीवि पत्रकारहरुले भोग्नु परेको समस्या बारे नेकपा एमाले परिचित रहेको र त्यसको समाधानका लागि पार्टीले गम्भीर रुपमा लिएको बताउनुभयो । पत्रकारहरुलाई आफ्नो आचारसंहितामा रहेर सत्य तथ्यमा अडिक भएर पत्रकारितामा टिक्ने वातावरण निर्माणका लागि सबै पक्ष जिम्मेबार बन्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ थियो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले प्रेस चौतारी पाल्पाले वार्षिक गतिविधिको तस्वीरहरु समेटेर प्रतिवेदनका रुपमा भित्तेपात्रो प्रकाशन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पाल्पा चौतारीको पछिल्लो नेतृत्वले नमुना कार्य गरेको समेत बताउनुभयो । पाल्पाली पत्रकारिता अन्य जिल्लाको भन्दा मर्यादित रहेको बताउँदै सहइन्चार्ज तिमिल्सेनाले देखिएका सानातिना समस्या सम्बन्धित सबैको समन्वय र सहकार्यमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले संगठन बलियो बनाउन प्रेस चौतारी पाल्पाले सिर्जनशील रुपमा रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । उहाँले पाल्पामा खोज पत्रकारिताको अवस्था कमजोर भएकोले यस विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय मिडियाहरु संकटग्रस्त अवस्थामा पुगेको बताउदै अध्यक्ष रानाले यसको सुधारका लागि समानुपातिक विज्ञापन नीतिको अक्षरस कार्यान्वयनमा दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।
प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्यालले पत्रकारिता पेशा नै धरापमा पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सबै मिडियाहरु संकटबाट गुज्रिएकोले श्रमजीवि पत्रकारहरु मर्कामा परेको बताउनुभयो । मिडिया र पत्रकारिता जोगाउन छलफलमा जुट्नु पर्ने उपाध्यक्ष अर्यालको भनाइ थियो ।
प्रेस चौतारीले संगठनले सम्पादन गरेका गतिविधिहरुको तस्वीर समेटेर वार्षिक रुपमा भित्ते पात्रो प्रकाशन गर्दै आएको छ । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता तथा सचिव नारायण न्यौपानेको सञ्चालनमा भएको कार्यक्रमा नेकपा एमालेका नेताहरु, पेशागत संगठनका प्रमुख, जनप्रतिनिधि, पत्रकार तथा चौतारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।