ज्ञान केन्द्रको योजना तर्जुमा गोष्ठी

पाल्पा । जिल्लामा पहिलो पटक कृषि ज्ञान केन्द्र स्थानीय तहसंग योजन तर्जुमा गोष्ठी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गर्ने योजना निर्माणमा एक रुपता ल्याउनका लागि गोष्ठी गरिएको हो ।

कृषि विकास योजनामा स्थानीय, प्रदेश र संघीय सरकारका विषयगत कार्यलय र सोही क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाको समेत उपस्थितिमा भएको गोष्ठीले कार्यक्रमको होरोपना हटाउन मद्दत गर्ने कृषि ज्ञान केन्द्रका प्रमख सन्तोषकुमार चौधरीले बताउनुभयो ।  गोष्ठीमा प्रमुख चौधरीले ज्ञान केन्द्रको चालु आर्थिक वर्षको ९ महिनामा भएको कार्य प्रगति र आगामी आर्थिक वर्षका लागि प्राप्त मापदण्ड अनुसार तयार गरिएको कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्थानीय जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी भएपनि सन्तोषजनक उपलब्धि नदेखिएकोले यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कृषिमा भएको सामान्य उपलब्धिको जसलिने धेरै भएपनि समन्वय गरेर काम गर्ने प्रचलन कम भएकोले आगामी दिनमा विषयगत कार्यालयहरु एउटै बाटोबाट कृषकसम्म पुग्ने अवस्था गराउनुपर्ने प्रमुख खनालको थियो ।

गोष्ठीमा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुखहरुले स्थानीयस्तरमा कृषकहरुले नियमित माटो परीक्षणको कार्यक्रम, बीज वृद्धि, मौरिपालन कार्यक्रम व्यवस्था गर्नुपर्ने माग गरेको बताएका थिए । उनीहरुले दक्ष जनशक्ति र समय अनुसार उनीहरुको क्षमता विकासमा ध्यान दिनुपर्ने समेत बताए । यसका साथै कृषि क्षेत्रको सम्भाव्यता अध्ययन, मल उत्पादनका लागि कारखाना, प्रविधिको प्रर्दशन, ब्राण्डिग, प्याकेजिंग र बजार व्यवस्थापनमा सहयोग पुग्ने कार्यक्रम तर्जुमा गर्न ज्ञान केन्द्रलाई आग्रह समेत गरेका छन् ।

जिल्लामा रहेका रैथानेवालीको संरक्षण र उत्पादनमा ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । उहाँले योजना तर्जुमाको पहिलो अभ्यासका लागि धन्यवा व्यक्त गर्दै जनताको आवश्यकताका आधारमा योजना बनाउन आग्रह समेत गर्नुभयो । बजेत तथा कार्यक्रम गराउँदा लक्ष्य, उद्देश्य र आवश्यकताका बारेमा स्पष्ट हुँदामात्र गन्तव्यमा पुग्न सकिने बताउदै अध्यक्ष रानाले गन्तव्य निश्चित नभए बजेट खर्च मात्र हुने उपलब्धि नहुँने बताउनुभयो ।

कार्यक्रमा विषयगत कार्यालय र सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिले विषयगत रुपमा समन्वय गरेर काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका थिए । उनीहरुले समान विषय र उद्देश्यले सञ्चालन हुने कार्यक्रम आगामी दिनमा समन्वय गरेर काम गर्दा सहज हुने समेत बताए । यसका साथै जिल्लामा कृषिको विकासका लागि यात्रिकीकरण, बजारिकरण, मुल्याश्रृखला, कृषक र व्यापारीहरुको डिजिटल विवरण व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । यसका साथै अनुदान लिने कृषकहरुमा दोहोरोपन हटाउन अनुदान लिएका कृषकहरुको तथ्याँक डिजिटल रुपमा राख्ने, रोग किराको व्यवस्थापनमा उचित योजना बनाउदा कृषि क्षेत्रमा नतिजामूखी काम हुने बताएको ज्ञान केन्द्रका खरिदार भुवन केसीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर