
पाल्पा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा नतिजामूखी काम गर्ने खोजिरहेको तानसेन नगरपालिकाले सरकारी सेवा सुविधा लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने बाध्यकारी निर्णय गरेको छ । गत वर्ष मर्ज र विद्यालय गाभ्ने काम गरेर साना बालबालिकालाई विद्यालयको पहुँच भन्दा टाढा राखेर संस्थागत विद्यालयलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको आरोप खेपेको नगरपालिकाले यस वर्ष यस्तो निर्णय गरेको हो ।
नगर कार्यपालिकाको १० औं बैठकले तानसेन नगरपालिकामा सरकारी सेवा, सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरिएको नगर प्रवक्ता यादवसिं कार्कीले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्केका कारण संस्थागत विद्यालयमा महंगो शुल्क तिरेर छोरोछोरी पढाउनु पर्ने अवस्थाको अन्त्यका साथै सरकारी शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउन सरकारी सेवासुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरिएको प्रवक्ता कार्कीको भनाइ छ । यो निर्णयले आफूले सरकारी सेवा सुविधा खाने तर छोराछोरीलाई गुणस्तर कमजोर भएको नाममा संस्थागत विद्यालयमा पढाउने कर्मचारीलाई नैतिक रुपमा पाठ सिकाउने उहाँको विश्वस छ । तानसेनका अधिकांश शिक्षकहरुका छोराछोरीहरु संस्थागत विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यस्तै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले पनि छोराछोरीलाई निशुल्क वा सशुल्क रुपमा संस्थागत विद्यालयमा पढाउने गरेका छन् ।
शैक्षिक सत्र २०८१ देखि तानसेनका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरी र उहाँहरूले अभिभावकत्व लिएका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने नगर शिक्षा समितिको बैठकले निर्णय गरेको सूचना अधिकारी भरत्तप्रसाद आचार्यले बताउनुभयो । सामुदायिक विद्यालय सुधारसँगै नगरपालिका भित्रको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र सार्वजनिक शिक्षामा जनप्रतिनिधि र कर्मचारीको चासो बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले तानसेन नगरपालिकाको स्थानीय शिक्षा नियमावलीको चौथो संशोधन गरी सबै बालबालिकालाई सरकारी विद्यालयमा अध्यापन गराउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । नगरपालिकाभित्रका सामुदायिक विद्यालय ५० र १९ वटा संस्थागत विद्यालय रहेका छन् ।
जसमा नगर भित्रका ४ विद्यालयलाई विग स्कुलको अवधारणाको रुपमा विकास गर्ने तयारी गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँका अनुसार १ सय गरीब, जेहेन्दार अति विपन्न विद्यार्थीलाई निःशुल्क आवासीय पठनपाठन गराउने गरी नगरको उत्तर क्षेत्रमा रहेको तानसेन १४ को त्रिभुवन माध्यमिक विद्यालय, तानसेनको जनता नमुना माध्यमिक विद्यालयलाई विग स्कुलका रुपमा अगाडि बढाउने तयारी रहेको छ । यस्तै तानसेनकै पद्यपब्लिक माध्यमिक विद्यालय, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय, सेन मध्यमिक विद्यालय र महेन्द्रबोधी माध्यमिक विद्यालय मिलाएर एउटा स्कुल बनाउने तयारी भैरहेको प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै तानसेन ९ मा रहेको दमकडा माध्यमिक विद्यालय र एउटा नगरको नमुना विद्यालय घोषणा गर्ने गरी काम भएको नगरपालिकाले जनाएको छ ।








