रिब्दीकोटमा प्राङ्गरिक मल कारखानाको शिलान्यास

पाल्पा । रिब्दीकोट गाउँपालिकाले प्राङ्गरिक मल कारखाना निर्माणको काम सुरु गरेको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिको ५ नं. वडाको नयाँटोलमा निर्माण हुने कारखानाको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले लामो समयको प्रयासपछि मल कारखाना निर्माणको सुरु गर्न सफल भएको बताउनुभयो । उहाँले कृषि पेशालाई व्यवसायिक बनाई रहनुभएका र नयाँ आउने कृषकहरुलाई प्रोत्सहान गर्ने उद्देश्यले कारखाना निर्माणको योजना सुरु गरिएको बताउनुभयो । कारखानाबाट मल उत्पादन सुरु भएपछि कृषकहरुलाई रासायनिक मल प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने अध्यक्ष कार्कीले विश्वास दिनुभएको छ । उहाँले अहिले अनावश्यक रुपमा आम्दानी बढी लिन बहानामा गरिएको रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै माटोको उर्वरशक्ति नष्ट गर्ने भएकोले यस विषयमा कृषम सचेत हुनुपर्ने बताउनुभयो । अहिले गाउँपालिका भित्र करिव ७ सय परिवार कृषिमा आबद्ध रहेको र सामान्य जीवन निर्वाहका रुपमा खेतिपाती गर्दै आएका थप एक हजार परिवारलाई व्यवसायिक रुपमा कृषि पेशा गर्ने बनाउनका लागि अहिले रिब्दीकोट कृषि परियोजना सञ्चालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँपालिका भित्रका कृषकहरुलाई मलको सहजता र उत्पादन वृद्धिमा सहयोग गर्ने गरी कारखाना निर्माण गर्ने योजना अगाडि बढेको बताउनुभयो । उहाँले गाउँघरमा बसाईँसराईका कारण पछिल्लो समय गोठे मलको अभाव भएकोले त्यसको परिपूर्तिका लागि कारखानाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा प्राङ्गरिक मलका विज्ञ यमबहादुर दर्लामीले नेपाल सरकारको २०७८ को प्राङ्गरिक तथा जीवाणु मल निर्देशिकाको मापदण्ड अनुसार कारखानाबाट मल उत्पादन गरिने जानकारी गराउनुभयो । उहाँले खेर गएको वनमारा, पात, सेउलाका साथै आंशिक रुपमा गोवरको प्रयोगबाट मल उत्पादन गरिने बताउनुभयो । अहिलेको कृषि उपज स्वास्थ्यका लागि हानिकारक रहेकोले प्राङ्गरिक मलको प्रयोगबाट भएको उत्पादन मानव स्वास्थ्य र माटो मैत्री हुँने बताउनुभयो ।

कारखाना निर्माणका लागि जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जिम्मा पाएको छ । करिब ४५ लाख लागत स्टीमेटमा काम सुरु भएपनि पूर्वाधार निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताउनुभयो । उहाँले गाउँपालिकाकोे नीति तथा कार्यक्रममा व्यवस्था गरे अनुसारको योजना सुरु गरिएकोले बताउनुभयो ।

५ नं. वडाका वडाध्यक्ष नारायण लाम्टाङ्गेले कारखाना निर्माणका लागि जलेश्वर मन्दिर व्यवस्थापन समितिको ३ रोपनी जग्गा १५ वर्षलाई भाडामा लिएको बताउनुभयो । उहाँले मासिक प्रति रोपनी २ हजार भाडा दिनेगरी जग्गा व्यवस्थापन गरिएको बताउँदै १ रोपनीमा कारखाना निर्माण हुने र अन्य २ रोपनीमा कृषि तथा पशुपालनको काम गरिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गाउँपालिकाले कृषकहरुको हितका लागि मल कारखाना खोल्ने योजना कार्यान्वयनमा ल्याउन राम्रो भएको बताउनुभयो । गोठे मलको अभाव हुँदा उत्पादनका लागि रासायनिक मलको प्रयोग गर्ने प्रचलन धैरे भएकोले उपभोक्ताको स्वास्थ्यमा ठूलो असर परिरहेको बताउनुभयो । कारखानाबाट मल उत्पादन हुन थालेपछि गाउँपालिका मात्र नभै सिंगो जिल्लामा अग्यार्निक कृषि उपज उत्पादन गर्ने गरी अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय