माथागढीकाे सार्वजनिक सुनुवाइ

पाल्पा ।  माथागढी गाउँपालिकाको दोस्रो चौमासिकमा सम्पादन गरेको कामको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिका सभाहलमा आर्थिक वर्ष ०८०/८१ को दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । जसमा चालु आर्थिक वर्षमा कार्यसम्पादन भएका विभिन्न गतिविधि, योजना तथा सेवाका विषयमा जानकारी गराउनुका साथै काम गर्दा देखिएका केहि समस्याहरु सुधारका लागि सार्वजनिक सुनुवाइ गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भरिमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको समीक्षा तथा सार्वजनिक सुनुवाइ गरिएको हो । माथागढी गाउँपालिकाको आयोजना तथा समृद्धि ब्रोडकास्टिङ च्यानल्सको सहजीकरणमा भएको समीक्षा तथा सार्वजनिक सुनुवाइमा पत्रकार दयाराज न्यौपाने र विजय कुमार बौडेलले सहजीकरण गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजना तथा कार्यक्रम, सामाजिक सुरक्षा भत्ता नविकरण तथा वितरण, शिक्षा, स्वास्थ्य, खानेपानी, श्रमदान, खेल सामग्री वितरण, सडक पूर्वाधार, विभिन्न संघसंस्थाहरु संगको सहकार्यलगायतका विषयमा भएका काम र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवा, रोजगारी, उपभोक्ता समिति, शैक्षिक पूर्वाधार, उत्पादनमुखी शिक्षा, पर्यटन, नाली तथा सडक व्यवस्थापन, कृषि, पशुपालन, योजना प्रक्रिया, भुक्तानी प्रक्रिया, लक्षित वर्गका योजना, खानेपानी, वस्ती विकास, फोहरमैला व्यवस्थापन, सूचना तथा सञ्चारलगायतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव व्यक्त गरेका थिए । सहभागीहरुको प्रश्न, जिज्ञासा र सुझावका विषयमा गाउँपालिका अध्यक्ष यम बहादुर चिदी तथा प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । सहभागीहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चिदीले नागरिकका समस्या प्रति गाउँपालिका सधै सकारात्मक रहेको बताउनुभयो । उहाँले समयमा गाउँपालिकामा आफ्ना समस्या लिएर आउने नागरिकलाई सेवा गर्न गाउँपालिका सधैव तत्पर रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष चिदीले आर्थिक पारदर्शीता, सुशासन सहितको सेवा प्रवाहमा गाउँपालिकाले जोड दिँदै आएको बताउनुभयो । उहाँले जनता संग जोडिएको सरकार स्थानीय सरकार रहेकोले माथागढीका नागरिकसंग जवाफदेही भएर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जसका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै सुझाव लिर्दै काम गरिरहेको अध्यक्ष चिदीको भनाइ थियो ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले गाउँपालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताउनुभयो । उहाँले काम गर्ने दौरानमा केहि समस्याभए तत्काल सुझाव राख्न आग्रह गदै माथागढी गाउँपालिकाको सुशासन वृद्धिका विषयमा सघाउन नागरिकलाई आग्रह गर्नु भयो । उहाँले नागरिकको सल्लाह र सुझावका आधारमा अगाडि बढने उद्देश्यले नै आफूहरुले नियमित सुनवाइका कार्यक्रम गरिएकोले कहि कतै काम गर्दैगर्दा कमजोरी देखिए तत्काल सुझाव राख्न अनुरोध समेत गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे, लेखा शाखा प्रमुख सन्तोष दाहाल, इन्जिनियर धर्मेन्द्र यादवलगायतले सहभागीले उठाएका सवालहरुको विषयमा कुरा राख्नुभएको थियो । उहाँहरुले गलत मनसायले काम नुहँने तर कुनै कारणबस हुँने कमजोरीलाई सुधारका लागि आमनागरिकले समयमै सहयोग गर्नुपर्ने बताउनुभयो । सहयोग र समन्वय र सहकार्यबाट मात्र गाउँपालिकालाई सामाजिक आर्थिक, भौतिक रुपमा समृद्ध बनाउन सकिने भएकोले यस विषयमा माथागढीवासी जिम्मेवार भएर लाग्नुपर्ने प्रवक्ता शंकर दर्लामीले बताउनुभयो ।

सम्बन्धित खवर