पाल्पा । नेकपा एमाले तानसेन ५ को वडा कमिटी अध्यक्षमा रमेशबहादुर बोहरा चयन हुनुभएको छ । वडा कमिटीको दोस्रो अधिबेशनले पुन बोहराको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन मण्डलका संयोजक बुद्धबहादुर रावलले जानकारी दिनुभयो । नयाँ चयन भएको कमिटीको उपाध्यक्षमा इच्छा लिगल, सचिवमा सुप्रिम शर्मा, उपसचिवमा ज्योति कार्की रायमाझी र विष्णु कुँवर रहनुभएको छ ।
अधिबेशनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले नव निर्वाचित नेतृत्वलाई सफल र रचनात्मक कार्यका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले अहिले तानसेन नगरपालिकाले जनताको चाहना अनुसार काम गर्न नसक्दा नागरिकले दुख पाएको बताउनुभयो । सांसद गैरेले यसको मुख्य कारण नेकपा एमालेका जनप्रतिनिधिहरु सरकारमा नहुँदा समस्या भएको बताउर्दै जनताको समस्या समाधान गर्ने र विकासमा जोड दिने पार्टी एमाले मात्र भएको बताउनुभयो । उहाँले यसका विषयमा वडा कमिटीले जनतालाई बुझाउने र स्थानीय सरकारलाई खवरदारी गरेर अगाडि बढ्न आग्रह गर्दै आफूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले जिल्लाको विकासका लागि एमालेको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले तानसेन ५ मा गएको निर्वाचनमा पार्टीले पराजय भोग्नु परेकोमा नागरिकले गलत गरेको महसुस हुनेगरी काम गरेर आगामी निर्वाचनमा जित सुनिश्चित हुनेगरी काम गर्न नयाँ कमिटीलाई आग्रह गर्नुयो । जिल्ला कमिटी सचिव पोखरेलले अव पार्टीका हरेक कमिटीमा जिम्मेवारी सहितको पुस्ता हस्तान्तरण आवश्यक रहेको बताउदै यसको सुनिश्चित भएमा मात्र सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहज हुने बताउनुभयो ।
एमाले पाल्पाका उपसचिव दिपक विश्वकर्माले वडाका सबै टोलमा पार्टीको संरचना तयार गरेर मिसन ८४ को तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै पार्टीमा आबद्ध कार्यकर्ता इमान्दार भएर वडामा एमालेले जित्ने अवस्था बनाउनुपर्ने बताउनुभयो । गतल व्यक्तिका हातमा सत्ता पुग्दा ५ वर्ष नागरिकले दुख पाउनुपर्ने भएकोले यो विषयमा जनतालाई समयमै सचेत बनाउने गरी वडा कमिटीको नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।
अधिबेशनमा निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष विमल काफ्लेले एक पटक पराजित हुँदैमा निराश नहुँन आग्रह गर्नुभयो । उहाँले माथागढीमा आफूहरुले गरेको निरन्तर प्रयासपछि सफलता पाएको उदाहरण दिँदै आफ्नो उद्देश्यमा विचल्लित नभएर निरन्तर पार्टीको काममा लाग्न सफलता मिल्ने विश्वासका साथ अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य विष्णुबहादुर कार्कीले विगतमा भएका कमिकमजोरीलाई समीक्षा गरेर वडा कमिटीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले कमिटीलाई चलायमान बनाउन कार्ययोजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सचिवालय सदस्य कार्कीले पार्टी सदस्यता वृद्धि, टोल कमिटी गठन जस्ता कामहरु गरेर वडालाई चलायमान बनाउन आवश्यक सहयोग गर्न आफू सधै तयार रहेको समेत बताउनुभयो ।
कार्यक्रममा एमाले तानसेन नगर कमिटी उपाध्यक्ष शशी श्रेष्ठ, अनेम संघ जिल्ला अध्यक्ष मिना जिसी, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीलगायतले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित वडा कमिटी अध्यक्ष रमेशबहादुर बोहराले वडा कमिटीलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन आफू सधै सहभागितात्मक रुपमा क्रियाशील हुँने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।