सारेमले रजत महोत्सव मनायो

पाल्पा । सामुदायिक रेडियो मदनपोखरा पाल्पाले रजत महोत्सव मनाएको छ । सारेमले विविध कार्यक्रम गरेर स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको हो ।

रजत महोत्सवको मुल समारोहको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमहरुको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको समेत बताउनुभयो । पछिल्लो समयमा देशमा भएका उपलब्धिका सकारात्मक कुरा भन्दा नकारात्मक टिप्पणीको बढी चर्चा हुने गरेको बताउर्दै स्थानीय सञ्चारमाध्यमले समाजमा आशा र उत्साह थप्ने विषयवस्तु उठान गर्नुपर्ने मन्त्री शर्माको भनाइ थियो । सञ्चार माध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तनका कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले स्थानीय विषयवस्तुमा केन्द्रित भएर सामाजिक विकास र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना प्रविधिको बढ्दो प्रयोगले भूमण्डलीकरणको अवस्थालाई बढाइदिएको उल्लेख गर्दै मन्त्री शर्माले यसले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पूर्खाले हस्तान्तरण गरेको अमूल्य निधि मौलिक संस्कृतिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताउनुुभयो । मन्त्री शर्माले संविधान बनेको लामो समयसम्म आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल देखिएको उल्लेख गर्दै जतिसक्यो चाँडो कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिनुभयो । मन्त्री शर्माले सरकार सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोंच बनाएर अघि बढिरहेको उल्लेख गर्दै सबै क्षेत्रमा महत्वपूर्ण सुरुवात भए पनि सरकारले चाहे जस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्रीले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताउनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरै भन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने तयारीमा सरकार रहेको समेत बताउनुभयो ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले सामाजिक विभेद, भष्ट्रचार विरुद्धका साथै सामाजिक आर्थिक रुपान्तरणमा सारेमले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले उप्ठारो परिस्थितिमा पनि जनताको पक्षमा उभिएको रेडियोले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, दलित, जनजाती र अल्पसंख्यकहरुको उन्नयनमा सूचना मार्फत ठूलो काम गरेको बताउनुभयो ।

पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले आवाज विहीन समुदायको आवाजलाई मुख्य प्राथमिकता दिएर अगाडि बढेको रेडियोलाई प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनताको सहभागितामा प्राप्त उपलब्धिलाई संस्थागत गर्न र समाजमा जागरण ल्याउन सारेमले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

समारोहमा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सामुदायिक रेडियोले जनताको आफ्नै भाषा र शैलीमा सूचना प्रवाह गर्दा प्रभावकारी भएको बताउनुभयो ।

लुम्बिनीका प्रदेश सभा सदस्य खेमबहादुर सारुले जनतालाई सूचनाको मालिक बनाउने सारेमले ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले पहुँच भन्दा टाढा रहेका नागरिकलाई समय अनुसारको सूचना निरन्तरत दिनका लागि आग्रह समेत गर्नुभयो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गाउँले परिवेशका मौलिक कार्यक्रम उत्पादन र प्रशासरणले जनताको मन छोएको बताउनुभयो । उहाँले पर्यटन र संस्कृतिलार्य जोडेर समय अनुसार कार्यक्रम उत्पादन गर्नका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सहि र तथ्य परक सूचनाले जनतामा उत्साह थप्ने बताउनुभयो । उहाँले प्रविधिको विकास संगै रेडियोको उत्पादन र प्रशारणलाई व्यवस्थित गर्दै अगाडि बढ्दा स्थानीय प्रशासनबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताका खास कुरा रेडियोले प्रशारण गर्ने गरेको बताउनुभयो । उहाँले समय अनुसार भएको प्रविधिको विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।

रजत महोत्सवका अवसरमा संस्थापक, सञ्चालक समिति, कर्मचारी, सहयोगहरुलाई सम्मान गर्नुका साथै अक्षयकोष पुरस्कार समेत वितरण गरिएको थियो । महोत्सवको औपचारिक कार्यक्रममा बोली पत्रिका र २०८१ सालको भित्ते पात्रो सार्वजनिक समेत गरिएको कार्यक्रम संस्थापक सारेमका प्रवन्धक सोमनाथ अर्यालको स्वागत, सचिव राजेश कुमार अर्यालको सञ्चालन तथा अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा चलेको हो ।

रजत महोत्सवमा अवसर पारेर रेडियोले पत्रकार सम्मेलन, निबन्ध प्रतियोगिता, अपांग भएका विद्यार्थीहरुलाई भोजन, पूनर्मिलन कार्यक्रम समेत गरेको प्रबन्ध निर्देशक गुणाकर अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय