
पाल्पा । पूर्वखोला गाउँपालिका २ जल्पाका कृषकहरुले प्लास्टिक टनेल भित्र तरकारी खेती गरेर राम्रो आम्दानी लिएका छन् । उनीहरुका लागि प्लास्टिक टनेल भित्रको बेमौसमी गोलभेँडा खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।
पछिल्लो समय जल्पा ढोलीमारा क्षेत्रमा प्रशस्त मात्रामा प्लास्टिकका टनेलमा खेती गरेको देख्न सकिन्छ । खास गरी वर्षातको समयमा टनेल भित्र तरकारी उत्पादन गर्न सहज हुने भएकोले बेमौसमी तरकारी बाली अन्तर्गत गोलभँेडा उत्पादन गर्ने गरिन्छ । गोलभेडाका लागी चैत्र बैशाख महिनामा ब्याड राख्ने गरिन्छ । व्याड राखेको २२ दिनमा बिरुवा सार्न तयार हुन्छ भने बिरुवा सारेको ३ महिनादेखि गोलभेँडाले फल दिन सुरु गर्ने कृषकहरुको भनाइ छ ।
किसानले भदौ, असोज महिनादेखि गोलभेडा बजारमा विक्रीका लागि लैजाने गर्दछन् । टनेलले गर्दा बारी आकर्षक देखिनुका साथै कृषि उपज उत्पादनले कृषकहरुको आर्थिक आयआर्जनमा समेत मद्दत गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताउनुभयो । उहाँका अनुसार जल्पाको पर्यटकीय क्षेत्र ढोलिमारामा मात्र एक सय भन्दा बढि टनेल रहेका छन् भने जल्पा वडा भरी करिब ५ सयको हाराहारीमा बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल निर्माण गरिएको छ ।
पूर्वखोला २ जल्पाकी मोतीसरा बरालले तीन वटा टनेलमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एक वर्षमा करिब ४५ हजार रुपैयाँको गोलभेँडा बेच्ने गरेको जानकारी गराउनुभयो । अन्य बाली लगाउदा भन्दा राम्रो आम्दानी तरकारी खेतीबाट हुने भएपछि उहाँ टनेल भित्रको खेतीमा लाग्नु भएको हो । जल्पाकै मिना कुँवरले पनि यस वर्ष ६० हजार रुपैयाँको गोलभेँडा बेचेको बताउनुभयो । टनेलमा रोपेको गोलभेँडा बेचेर आएको पैसाले उहाँलाई घर खर्च चलाउन र छोराछोरीको पढाइ खर्च तिर्न सहज हुने गरेको कृषक कुवँरको भनाइ छ ।
कृषक मोतीसरा र मिना एक उदाहरण मात्र हुनुहुन्छ । यहाँका अधिकांश नागरिक कृषि पेसामा आवद्ध रहनुभएको छ । जल्पाका धेरै कृषकलाई टनेलमा तरकारी खेती गर्न शुभ सन्देश सहकारी संस्थाले सहयोग गर्दै आएको छ । तरकारी ब्लक कार्यक्रम मार्फत् तरकारी खेतीमा अनुदान र महिलालाई तालिम दिइरहेको सहकारीका अध्यक्ष चन्द्रिसरा रखालले बताउनुभयो । सीप र अनुदान पाएका कृषकहरु खेतीमा उत्साहित भएर काम गरेर आम्दानी गरिरहेको उहाँको भनाइ छ ।
जल्पामा टनेल खेती सुरु गरेको वर्षौ भएपनि स्थानीय सरकार आएपछि यसलाई व्यवसायिक बनाउन सहजीकरण गरेको किसानको भनाइ छ । स्थानीय सरकारले सहकारी मार्फत् कृषकलाई आवश्यकता अनुसार बिउ तथा कृषि सामग्री वितरण गर्नुका साथै कृषि प्राविधिकहरुको सहयोग उपलब्ध गराइरहेको गाउँपालिकाका सूचना अधिकारी मोहन ढाकालले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले –कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएकोले पनि कृषकहरुको मागलाई ध्यानमा राखेर सहयोगका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
यहाँका कृषकहरु पछिल्लो समय बेमौसमी तरकारी खेती तर्फ आकर्षित भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाहरु पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेको उहाँको भनाइ छ । बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने भएपछि कृषकहरु उत्साहित भएका हुन् । तरकारी उत्पादनमा सहजताका लागि गाउँपालिकाले अुनदानमा बिउ प्रदान गर्दै आइरहेका छ ।