
पाल्पा । सडक डिभिजन कार्यालयमा कार्यरत कर्मचारीहरु कार्यालय समयमै मनोमानी ढंगबाट हिडडुल गर्ने गरेको भेटिएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पाको टोली आज सडक डिभिजन कार्यालयमा पुग्दा यस्तो अवस्था भेटिएको हो । कार्यलयमा रहेका दरबन्दी, करारमा कार्यरत अधिकांश कर्मचारीले दैनिक हाजिरी गर्नुपर्ने भएपनि व्यवास्ता गरेको भेटिएको हो । यसका साथै कार्यालयमा हाजिरी भएपछि काम गर्न साइडमा जाँदा लक बुक भरेर जानुपर्नेमा त्यो प्रकृया पूरा नगरी आफूखुसी हिडेको पाइएको छ ।
यसका साथै तालिम गोष्ठीमा जाँदा भम्रण आदेश स्वीकृता गरेर हिडनुपर्ने भएपनि यस विषयमा पनि ध्यान नदिएर मनोमानी रुपमा हिडने गरेको भेटिएको नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूति तिमिल्सिनाले बताउनुभयो । उहाँले महासंघको टोली करिव पौने ४ बजे कार्यालयमा पुग्दा प्रशासन प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, एक जना कार्यालय सहायक र एक जना चालक बाहेक अरु कोही कर्मचारी नदेखेपछि सोधखोज गर्दा चित्तबुझ्दो जवाफ नपाएपछि प्रमुख जिल्ला अधिकारीलाई कार्यालयको अवस्था बारे जानकारी गराएर अनुगमनका लागि अनुरोध गरेको बताउनुभयो ।
तत्काल जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत रमा श्रेष्ठ सडक डिभिजन पुगेर हाजिरी किताब र आवश्यक कागजपत्र माग गर्दा हाजिरी नभएको दिनको पुष्टि हुने कुनै कागजपत्र प्रशासन प्रमुख तिलबहादुर थापाले पेश गर्न सक्नुभएन । उहाँको समेत २ दिन हाजिरी छैन । तर के विषयमा हाजिरी नभएको भन्ने बारे स्वयम प्रशासन प्रमुख थापोले बताउन सक्ने अवस्था भएन । २० र २१ चैत्रका लागि कार्यालय प्रमुख बाबुराम सापकोटा, लेखा प्रमुख र २ इन्जिनियर पोखरा तालिममा गएको भनिएपनि कार्यालयको रेकर्डमा भम्रण आदेश छैन ।
सूचना अधिकारी दुर्गा गौतमलाई फोन सम्प्रर्क गर्दा एक दुई दिन विदामा बसेको भनेपनि गएको ११ गतेदेखि हाजिरी नभएको भेटियो । यस्तै अन्य इन्जिनियर र सवइन्जिनियरको पनि हाजिरी अवस्था उस्तै छ । कुन दिन कहाँ गएको भन्ने लकबुक भरिएको छैन । केही कर्मचारीहरुले भने दैनिक रुपमा हाजिरी गरेर फिल्डमा जाने गरेको देखिएको जिल्ला प्रशासन कार्याल पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । उहाँले कार्यालयको हाजिरी किताव हेर्दा तालिममा सहभागी कार्यालय प्रमुख सहितको समूहको भ्रमण आदेश नभरिएको, प्राविधि कर्मचारी फिल्डमा जाँदा लक बुक भर्नुपर्ने भएपनि नभरिएको र प्रशासन प्रमुख नासुकै हाजिरी नियमित नभएको देखिएको बताउनुभयो ।
अनुगमनमा पुगेको जिल्ला प्रशासन र पत्रकारको टोलीलाई नासु तिलबहादुर थापाले दैनिक अपनाउनुपर्ने कागजी प्रकृयाका विषयमा सोधेको प्रश्नको स्पष्ट जवाफ दिन सक्नु भएन । उहाँले सकेसम्म कार्यालयका कर्मचारीलाई ढाकछोप गर्ने प्रयास मात्र गर्नुभयो । उहाँले दिएको जवाफलाई पुष्टि गर्ने कागजपत्र र रेर्कड नहुँदा सडक कार्यालयमा कर्मचारीहरुको मनोमानी बढि नै रहेको सजिलै बुझ्न सकिन्छ । कार्यालयकाे प्रशासन शाखालाइ नै वेवास्ता गरेर दैनिक कार्य गरेकाे बुझन् सकिन्छ ।
सडक डिभिजन कार्यालयमा कार्यालय प्रमुख, ४ जना इन्जिनियर, लेखा प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, तीन कार्यालय सहायक र २ सवारी चालकसहित २१ जना कर्मचारी कार्यरत रहेका छन् ।