पाल्पा । अमेरिका मदनपोखरा समाजले सामुदायिक रेडियो मदनपोखरा (सारेम) लाई करिब तीन लाख रुपैँया मुष्ठिदान सहयोग गरेको छ । समाजले मदनपोखरामा जन्मभई अमेरिकामा बसोबास गरेका विभिन्न व्यक्तिहरूबाट संकलित रकम दुई लाख बयानब्बे हजार दुई सय बिस रुपैँया सारेमलाई सहयोग गरेको हो ।
समाजले मनिग्राममार्फत् पठाएको दुई लाख बयानब्बे हजार दुई सय बीस रुपैँया तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गर्नुभयो । सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाई दिदीबहिनीहरूले जन्मस्थान र रेडियोप्रतिको मायाले मुष्ठिदानमार्फ्त आर्थिक सहयोग उपलब्ध गराउनुभएकोमा सबैप्रति आभार र धन्यवाद ज्ञापन गर्नुभयो ।
२०५५ सालमा मदनपोखरामा स्थापित सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सवको आयोजना गरेको छ । यो दक्षिण एशियाको पहिलो गाउँले सामुदायिक रेडियो हो । सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले आफू विदेश भएपनि स्वदेशको रेडियोप्रतिको चासो र चिन्ता लिनेहरू धन्यवादका पात्र रहेको बताउनुभयो ।
सामुदायिक रेडियो मदनपोखराले स्थापनाकालिन समयमा स्वामित्व र सहभागिता विषयक अन्तक्र्रिया गर्ने क्रममा बन्दिपोखराका टुकलाल खातीले रेडियोको दिगोपनका लागि मुष्ठिदान चलाउनुपर्ने सुझाव दिनुभएको थियो । त्यसपछि रेडियोले समुदायबाट मुष्ठिदान र सामुदायिक वन उपभोक्ता समूहबाट दाउरादान अभियान सञ्चालन गर्दै आइरहेको छ ।
अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि सम्झना भइरहने र रजत महोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको बताउनुभयो । अहिले अमेरिकामा बस्ने २३ जना मदनपोखराका व्यक्तिले तत्काल रकम पठाएको र क्रमिक रुपमा अरु व्यक्तिले पनि रकम पठाउने तयारीमा रहेको घिमिरेले जानकारी दिनुभयो ।
अमेरिकाबाट मुष्ठिदानको रकम पठाउनेहरूमा विष्णु पाठक, शेषकान्त खनाल, नेत्र पाण्डे, डा गिरीराज घिमिरे, यादव खनाल, डा.सन्दीप पाण्डे, गणेशबहादुर भट्टराई, सुन्दर घिमिरे, गोविन्द घिमिरे, हरि बस्याल, भानुभक्त घिमिरे, खेमराज पाण्डे, वावुराम देवकोटा, प्रमिना अर्याल, राधा भट्टराई, विनोद रेग्मी, विनोद भण्डारी, गीता जिसी, गोपाल जिसी, सपना पाठक, सुरज घिमिरे, नारायण अर्याल र युवराज खनाल रहनुभएको छ ।
सारेमको चैत्र २२ गते पुनर्मिलन कार्यक्रम र चैत्र २३ गते रजत महोत्सव समारोहको आयोजना गरेको छ । रजत महोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहनुहुने सारेमले जनाएको छ ।