आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु

पाल्पा । आजदेखि शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएकाे छ ।

पाल्पा जिल्लाका ४ हजार १ सय ८२ जना विद्याथी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । जिल्लामा रहेका १ सय १८ वटा सामुदायिक विद्यालय, १९ संस्थागत विद्यालय र १ वटा खुल्ला विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । जसमा सामुदायिक विद्यालयबाट ३ हजार ६ सय ९५ जना र १९ संस्थागत विद्यालयबाट ४ सय ८७ जना एसईई परीक्षा दिने छन् ।

जसमा दुई हजार १८ जना छात्र र दुई हजार १ सय ६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले जिल्लामा २७ परीक्षा केन्द्रको व्यवस्था गरेर एसईई परीक्षा लिने तयारी पूरा भएको बताउनुभयो । यो वर्ष नियमिततर्फ ४ हजार १० जना र ग्रेड वृद्धि तर्फ १ सय ७२ जना विद्यार्थीले परीक्षा दिने प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार यस वर्षको एसईई परीक्षामा दमकडा माध्यमिक विद्यालयका एक जना दृष्टिविहीन, पाल्पा कारागारका एक जना कैदीबन्दी र एक जना हिरासतमा रहेका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

यस वर्षको एसईई परीक्षा दिनेमा २ सय ६७ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् । तानसेनको जनता माध्यमिक विद्यालयमा सञ्चालित खुल्ला विद्यालयबाट १५ जनाले एसईई दिने छन् । यो वर्ष सबैभन्दा बढी रामपुरको दरौटी माध्यमिक विद्यालयको केन्द्रबाट २ सय ८७ जना र सबैभन्दा कम बगनासकालीको चन्द्र माध्यमिक विद्यालय चापपानीबाट ६० जनाले एसईई परीक्षा दिनेछन् । गत वर्ष २०७९ को एसईई परीक्षामा पाल्पाबाट ४ हजार ५ सय ४६ जनाले परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३ सय ६४ जना कम विद्यार्थी एसईईमा सहभागी हुने इकाईले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको छ । परीक्षा सम्बन्धी प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको र केन्द्राध्यक्ष नियुक्ति अभिमुखीकरणलगायतका काम सम्पन्न गरेर केन्द्रमा खट्ने काम भएको इकाई प्रमुख सुवेदीले बताउनुभयो ।

परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि यो वर्ष २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २ सय १० जना निरीक्षक, ४० जना परीक्षा सहायक, ८४ जना कार्यालय सहयोगी, ४ सय १० जना सुरक्षाकर्मीको जनशक्ति परिचालन भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । परीक्षालाई शान्त, मर्यादित र बालमैत्री वातावरणमा सम्पन्न गर्नका लागि सम्पूर्ण शिक्षाप्रेमी, सरोकारवालाहरुलाई इकाईले अपील समेत गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

परीक्षा चैत्र १५ अर्थात आजदेखि सुरु भएर आगामी २७ चैत्रमा सकिने छ । यस वर्ष देशभरबाट एसईई परीक्षाका लागि फाराम भरे अनुसार पाँच लाख चार हजार ४ सय १४ जना परीक्षामा सहभागी बन्नेछन् ।

सम्बन्धित खवर