मिसनलाई मानव अधिकारकर्मीको ध्यानाकर्षण

पाल्पा । युनाइटेड मिसन अस्पताल पाल्पामा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम चलाउन मानव अधिकार रक्षक सञ्जाल पाल्पाले अस्पताललाई ध्यानाकर्षण गराएको छ ।

जिल्लामा सरकारी अस्पतालको अवस्था कमजोर हुँदा नागरिकहरुले नीजि तथा सामुदायिक अस्पतालमा महंगो स्वाथ्य सेवा लिन परेको बाध्यात्मक अवस्थाको अन्त्यका लागि सञ्जालले अस्पतालमा बिमा कार्यक्रम पुन लागु गर्न ध्यानाकर्षण गराएको सञ्जालका संयोजक भगवान भण्डारीले जानकारी दिनुभयो ।

संयोजक भण्डारीको नेतृत्वमा मानवअधिकार रक्षक सञ्जालका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी र स्थानीय बासिन्दाहरु सहितको टोलीले अस्पतालका कार्यकारी निर्देशक डा. रचेल कारख, प्रशासकिय अधिकृत जीवन भट्टराई, कर्मचारी व्यवस्थापन प्रमुख गणेश प्रसाद घिमिरेसँग संयुक्त रुपमा छलफल गरी स्वास्थ्य बिमा चलाउन आग्रह गरेको हो । यसैबीच अस्पतालमा बिमा कार्यक्रम सञ्चालनमा देखिएका जटिलता, समाधान र सञ्चालन प्रक्रियाको बारेमा समेत छलफल गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
छलफलमा युनाइटेड मिसन अस्पतालकी कार्यकारी निर्देशक डा.रचेल कारखले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दा बिमा बोर्डबाट भूक्तानी पाउनु पर्ने रकम समयमा प्राप्त नहुँदा अस्पतालको नियमित सेवा प्रवाहमा असहज हुने अवस्था आएकोले बिमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताउनुभयो । सेवा अनुसार सरकारले दिने सुविधा नियमित भएमा सेवा दिन सकिने उहाँको भनाइ थियो ।

अस्पतालका प्रसासकीय अधिकृत जीवन भट्टराईले अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालन हुँदा धेरै गरिव तथा विपन्न नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने भएकोले सेवा सुचारु गर्न सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारबाट अहिले अस्पतालले पाउनुपर्ने बक्यौता रकम उपलब्ध गराउने र आगामी दिनमा पनि सोही बमोजिम रहने अवस्थाको सुनिश्चित भएमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न आफूहरु तयार रहेको जानकारी गराउनुभयो ।

छलफल कार्यक्रममा संयोजक भण्डारीले मिसन अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालन हुँदाको अवस्थामा धेरै गरिव तथा विपन्न परिवारका नागरिकहरुले निःशुल्क उपचार पाएको तर पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि समस्या भएको बताउनुभयो । उहाँले मिसन अस्पताल जिल्लाकै पुरानो अस्पताल भएकोले अस्पताल प्रति धेरै बिरामीहरुको उच्च विश्वास रहेको बताउनुभयो । आमनागरिकले आफ्नो सहज स्वास्थ्य उपचारका लागि गरेको स्वाथ्य बिमा मार्फत मिसन अस्पतालबाट सेवा लिन चाहेकोले यस विषयमा सबै पक्ष गम्भीर भएर तत्काल समस्या समाधान गरेर सेवा सुचारु गर्न संयोजक भण्डारीले आग्रह गर्नुभयो ।

सम्बन्धित खवर