पाल्पा । माथागढी गाउँपालिकाले दुई दिने राजश्व सुधारका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । जनप्रतिनिधि र कर्मचारीहरुका लागि राजश्व सुधार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिममा स्थानीय सरकारको खर्च सञ्चालन, योजना र कार्यक्रम निर्धारणका लागि सामथ्र्य वृद्धि गर्न गाउँपालिकाको आन्तरिक राजश्व परिचालन क्षमतामा वृद्धि हुनुपर्ने आवश्यकता देखिएकोले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले तालिमले स्थानीय तहको राजश्व अधिकार, सम्भावनाहरुको खोजी गर्ने, सम्भाव्य क्षेत्रको राजश्व परिचालनका लागि अवलम्बन गर्नुपर्ने नीतिगत, कानुनी र व्यवस्थापकीय सुधारका उपायहरु पहिचान हुनुका साथै कार्यान्वयनमा ल्याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । तालिमले अहिले भएका प्रयासका आधारमा वास्तविक आन्तरिक आयको प्रक्षेपण गर्नेका लागि राजस्व सुधार कार्ययोजनाको खाँचो पूरा गर्ने अध्यक्ष चिदीको भनाइ छ ।
तालिममा गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले आन्तरिक आय परिचालनमा सुधार ल्याउन र राजश्व सुधारका क्रियाकलापहरु पहिचान गर्न तालिमले मद्दत गरेको बताउनुभयो । उहाँले पहिचान गरिएका क्रियाकलापहरुको कार्यान्वयनबाट स्थानीय तहको आन्तरिक आयमा पर्ने प्रभाव र राजश्वको प्रक्षेपण गर्ने कार्यलाई मार्गदर्शन गर्न तालिम प्रभावकारी भएको बताउनुभयो ।
माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले तालिमले स्थानीय तहलाई आ–आफ्नो राजश्व सुधार कार्ययोजना तर्जुमा गर्न सहयोगी बनेको बताउनुभयो । उहाँले आन्तरिक आय परिचालनमा सुधार ल्याउन, राजश्व प्रक्षेपणलाई यथार्थपरक र वैज्ञानिक बनाई बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष शंकर दर्लामीले संघ तथा प्रदेश सरकारबाट प्रदान गरिने अनुदानले मात्र स्थानीय तहको खर्चले थेग्न अवस्था नभएको स्थानीय तहमै रहेको सम्भावनाको खोजी गर्न तालिमले ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले संघीय वित्त व्यवस्थाका मान्यता अनुसार स्थानीय तहलाई विभिन्न कर तथा गैर करहरु लगाउने र उठाउने गरी राजश्व अधिकार संबैधानिक रुपमै प्रदान गरेकोले जनप्रतिनिधि र कर्मचारीलाई बुझाउन र सम्भावनाको खोजी गर्न तालिम सहयोगी भएको बताउनुभयो ।
तालिममा सहभागी ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले संस्थागत संरचना, जनशक्ति, व्यव्स्थापकीय पक्षहरुलाई विश्लेषण गर्दा वर्तमान अवस्थामा पनि आन्तरिक स्रोत परिचालनमा गाउँपालिकाको अवस्था कमजोर देखिएको बताउनुभयो । उहाँले त्यसको सुधारका लागि तालिम प्रभावकारी भएको बताउनुभयो । तालिममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरी बास्कोटाले सहजीकरण गर्नुभएको थियो ।