
पाल्पा । पूर्वखोला गाउँपालिकाले एकल महिलाहरुको आयआर्जनका लागि दिएको ५ दिने झिनिया राेटी बनाउने तालिम सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ६ वटै वडामा रहेका एकल महिलाहरुलाई उद्यमी तथा स्वरोजगार बनाई आयआर्जनमा मद्दत गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्दा आर्थिक विकास हुने बताउनुभयो । उहाँले आयआर्जन भएपछि एकल महिलाको जीवनस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा ६ सय ६३ जना एकल महिलाको बसोवास रहेको छ । २५ वर्ष देखि ५० वर्ष सम्म उमेर समूहका १९ जना दिदीबहिनीहरुको सहभागितामा तालिम सञ्चालन गरिएको सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।
५ दिनसम्म चलेको तालिममा रानीमहल झिनियाँ तथा खाद्य उद्योगको सञ्चालक तुलसा नेपाल र एकल महिला समूहकी जिल्ला अध्यक्ष तुलसी गैरे घिमिरेले सहजीकरण गर्नुभएको थियो । उहाँहरुले झिनियाँ बनाउने तरिका, झिनियाको बजार, उत्पादनलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
तालिम समापन कार्यक्रम पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी शर्मा भट्टराई अध्यक्षता तथा सामाजिक विकास शाखा प्रमुख शर्मिला चौधरीको सञ्चालनमा सम्पन्न भएको हो ।