कृषकलाई व्यवसायिक बनाउदै एमाले तानसेन

पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले कृषकहरुलाई व्यवसायिक बनाउन तालिम सञ्चालन सुरु गरेको छ । आर्थिक आयआर्जनका लागि विभिन्न पेशा गदै आएका कृषकहरुलाई व्यवसायिक बनाउन तालिम गर्न लागिएको हो । जसअन्तरगत पहिलो चरणमा कुखुरा पालक किसानहरुका लागि एक दिने व्यवसायिक कुखुरापालन तालिम सञ्चालन गरिएको तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा कृषकहरुको आवश्यकता अनुसार तालिम आयोजना गरिने बताउनुभयो ।

तालिममा सहभागी कृषकहरुलाई व्यवसायिक कुखुरा पालन कसरी गर्ने, कुखुरालाई लाग्ने रोग, रोगबाट बच्ने उपाय, औषधी उपचार, कुखराका लागि आवश्यक पर्ने दाना, खोरको व्यवस्थापनका विषयमा पशु चिकित्सक चन्द्र बहादुर रानाले सहजीकरण गर्नुभएको थियो । यसका साथै कुखुरा पालनको सम्भावना, , फाइदा र समस्या सामाधानका बारेमा समेत जानकारी गराइएको थियो ।

यसैगरी तालिममा फार्म स्थापना तथा व्यवस्थापनमा प्राविधिक सहयोग, आधुनिक खोर निर्माण, चल्ला हुर्काएर बेच्ने प्रविधि, ह्याचरी स्थापना, कुखुराको फार्म स्थापना, बजारीकरण, पशु आहारा तथा खोर निर्माणलगायतका विषयमा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाका पशु सेवा प्राविधिक युवराज ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

एक दिने तालिममा एनआईसी एसिया बैंक तानसेन शाखाका प्रमुख हरिकृष्ण शर्माले कृषि क्षेत्रमा बैंकले गर्ने लगानीको विधि र प्रक्रियाबारे जानकारी गराउनुभयो । उहाँले फार्म दर्ता गराउने प्रक्रिया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि बिमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको विषयमा जानकारी, विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना लेखनलगायतका विषयमा सिकाउनुभएको थियो ।

आफूहरुले गर्दै आएको सामान्य कुखुरा पालन व्यवसायलाई प्रवद्र्धन र उत्पादन बढाउनका लागि ज्ञान, सीप, योजना र बजार देखाउने विशेष तालिम आयोजना गरी किसानहरुलाई सहभागी गराएकोमा तानसेन ५ का किसान सुरेश विष्टले धन्यवाद व्यक्त गर्नुभयो । तालिममा सहभागी भएका व्यवसायिक कुखुरापालक कृषकहरुलाई व्यवसायका लागि थप दक्ष बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने नेकपा एमाले तानसेन नगर कमिटिका अध्यक्ष आत्रेयले बताउनुभयो ।

तालिममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नारायण शर्माको विशेष उपस्थिति रहेको थियो । उहाँले समृद्धिका लागि आर्थिक विकास आवश्यक रहेको बताउर्दै नयाँ गर्नुभन्दा गर्दै आएको पेशा व्यवसायलाई फरक र व्यवस्थित रुपमा गर्दा सफल भइने बताउनुभयो । जसका लागि एमाले तानसेनले गरेको सुरुवात सकारात्मक र नमुना भएकोले सबैले असल अभ्यासको सिको गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा तानसेन नगरपालिका भित्रका ५९ जना कुखुरापालक कृषकको सहभागिता रहेको नगर कमिटी सचिव महेशलाल शाक्यले जानकारी दिनुभयो ।

सम्बन्धित खवर